वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल मौसमले प्रभावित

वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल मौसमले प्रभावित


वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनल खेल मौसमले प्रभावित बनाएको छ। भारत र न्युजिल्याण्डबीच टेष्ट च्याम्पियनसिप दोस्रो दिनसमेत प्रभावित बनेको हो।

प्रतियोगिताको पहिलो दिन बर्षाका कारण पुरै प्रभावित बनेको थियो । दोस्रो दिन मात्र ६४ दशमलव ४ ओभर खेल हुन सकेको थियो। खराब प्रकाशका कारण दिनको खेल समय अघिनै सक्नु परेको थियो । खेल सकिँदा भारत १ सय ४६ रनमा ३ विकेट गुमाएको अवस्था थियो । कप्तान विराट कोहली ४४ र उपकप्तान आजिक्या रहाणे २९ रनमा अविजित थिए।

यसअघि न्युजिल्याण्डले टस जितेर भारतलाई ब्याटिङ्गको निम्तो दिएको थियो। न्युजिल्याण्ड ४ तिव्रगतिका बलरसहित मैदान उत्रिएको थियो । भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो सुरुवात गरेका थिए । दुवैले न्युजिल्याण्डका बलरलाई दुःख दिएका थिए।

रोहित र गिलले पहिलो विकेटका लागि ६२ रन जोडेका थिए । रोहितले ६८ बलमा ६ चौकाको मद्दतले ३४ रन बनाए । गिलले ३ चौकासहित २८ रन बनाए । रोहितलाई काइल जेमिसन र गिललाई निल वेग्नरले आउट गरेका थिए ।

तेस्रो नम्बरमा आएका चेतेश्वर पुजाराले निकै मन्द गतिमा खेलको सुरुवात गरेका थिए । उनले ३६ बलमा खाता खोलेका थिए । उनी मात्र ८ रन बनाएर ट्रेन्ट बोल्टको हातबाट आउट भए । उनले ५४ बलमा २ चौका प्रहार गरे । त्यसपछि विराट र आजिक्या रहाणे मिलेर संयमित तरिकाले भारतको इनिङ्स अघि बढाए । दुवैले चौथो विकेटका लागि ५८ रन जोडे ।

खराब प्रकाशका कारण खेल तीनपटक रोक्न परेको थियो । यसका कारण टी–ब्रेकसहित चाँडै लगिएको थियो । त्यसपछि खराब मौसमका कारण खेल ६४ दशमलव ४ बलमा रोकिएको थियो।

म्याच अधिकारीहरुले प्रकाशको मिटर जाँचेर खेल पुन सुरु गर्न सकिने बताएका थिए । तर मौसमले साथ नदिएपछि खेल चाँडैनै सकिएको घोषणा गरिएको थियो ।

Logo