युरोकपकाे उपाधि हाेडमा इंग्ल्यान्ड र इटालीः कसले मार्ला बाजी? (भिडियोसहित)

युरोकपकाे उपाधि हाेडमा इंग्ल्यान्ड र इटालीः कसले मार्ला बाजी? (भिडियोसहित)


जारी १६ औं संस्करणको युरोकप २०२० को फाइनलमा यसपटक इंग्ल्यान्ड र इटालीले स्थान बनाएका छन्। आइतबार राति लण्डनको वेम्बली रंगशालामा हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्दैछन्। इंग्ल्यान्डले पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो यस्तै एक पटकको च्याम्पियन इटालीले भने चौंथो पटक फाइनल खेल्न लागेको हो।

फाइनल प्रवेश गर्ने क्रममा इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

यता सेमिफाइनलको पहिलो खेलमा इटालीले तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो। इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो। यो जीतसँगै इटालीले कीर्तिमान समेत बनाएको छ। इटाली ३३ खेलमा अपराजित रहन सफल भएको हो। इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो। इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।  

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि आफ्नो पक्षमा पार्न तयार रहेको बताउँछन्।

के भन्छन् फाइनल अघि दुवै टिमका प्रशिक्षकहरु ?
इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताएका छन्।

‘हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौँ। त्यसैले हामी धेरै खुसी छौं र खेलाडीहरूलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु,’ मान्सिनीले भनेका छन्, ‘हामीले धेरै वर्षदेखि केही जितेनौं। अब हामीले आइतबार जित्नु पर्नेछ।’

प्रशिक्षक मान्सिनीले सम्हालेपछि इटालीको खेलमा व्यापक सुधार देखिएको छ । सन् २००६ पछि इटालीले एउटा पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन तर, मान्सिनी आएपछि भने पुन खेलाडी र फ्यानहरुमा आशा जगाएको छ। 

यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नु पर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताएका छन्। ‘इंग्ल्यान्डको पछाडी पुरै स्टेडियम हुनेछ । उनीहरुले हामीलाई दबाबमा राख्ने छन्। फाइनल खेल अन्य खेल भन्दा फरक हुन्छ । हामीले ध्यान दिएर खेल्नु पर्छ,’उनले भनेका छन्।

यता इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट भने इटालीको अवरोध हटाएर इतिहास रच्न चाहन्छन्। ‘हामी फाइनलमा छौँ भन्ने कुराले हामी रमाइरहेका छौं तर, हाम्रो लागि इटाली अर्को एक ठुलो अवरोध छ। इटाली उत्कृष्ट टिम हो। पछिल्लो दुई वर्ष उनीहरु उत्कृष्ट लयमा देखिएका छन्, त्यसैले अहिले आफ्नो खेलाडीहरुलाई कसरी राम्रो खेलाउन सक्छु भन्ने तर्फ लागिरहेको छु।’ प्रशिक्षक साउथगेटले भने । 

युरोकपको फाइनल खेल इंग्ल्यान्डको घरेलु मैदान बेम्बली स्टेडियममा हुँदैछन्। त्यसैले आफ्नो घरेलु मैदानमा खेल्न इंग्ल्यान्डलाई केही सहज हुने आँकलन गरिरहेको छ। यस्तै इङल्यान्डको अग्रपंक्ति निकै आक्रामक र उत्कृष्ट देखिएको छ। इंग्ल्यान्डका खेलाडीहरु पनि निकै फर्ममा देखिएछन्। खेलाडीबीचको तालमेल पनि निकै राम्रो छ। इंग्ल्यान्डले अन्तिम १६ मा जर्मनीलाई ५५ वर्षपछि २–० गोलले पराजित गरेको थियो। 

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ८ खेलमा जित निकालेको छ भने ११ खेल इटालीले जितेको छ। यस्तै ८ खेल बराबरीमा सकिएको छ । अब युरो २०२० को फाइनलमा इंग्ल्यान्ड र इटालीको भेट २८ औं पटक आइतबार हुनेछ । 

दुईबीचको पहिलो भेट सन् १९३३ को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भएको थियो। उक्त खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यतिबेला इटाली सबैभन्दा अनुभवी टोली रहेको थियो। तर, इंग्ल्यान्डले भने अनुभवी टोलीको सामना गरेको थिएन। तैपनि इंग्ल्यान्डले इटालीसँग बराबरी खेलेको थियो। यस्तै दुईबीचको दोस्रो भेट एक वर्षपछि सन् १९३४ मा भएको थियो । जसमा इंग्ल्यान्डले इटालीविरुद्ध ३–२ गोल अन्तरले बाजी मारेको थियो। उक्त खेल ५६ हजार दर्शकले हेरेको थियो। 

दुईबीच तेस्रो भेट सान सिरो नामले चिनिने स्टेडियममा भएको  थियो। इटालीले उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना गरेको थियोे। जहाँ ७० हजार प्रशंसक सहभागि भएर प्रत्यक्ष खेल हेरेका थिए। जुन एक रेकर्ड बनेको थियो। दुई टोलीबीचको खेल भने बराबरीमा सकिएको थियो। 

इंग्ल्यान्ड र इटालीबीचको चौथो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले इटालीलाई फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा इंग्ल्यान्डले इटालीविरुद्ध ४–० गोल अन्तरले जीत निकालेको थियो। उक्त खेलको २३ मिनेटमा इटालीको तर्फबाट २ गोल भएको थियो। तर, अफसाइड देखाउँदै रेफ्रीले उक्त गोल रद्ध गरेको थियो। यस्तै १९४९ मा इंग्ल्यान्ड उत्कृष्ट प्रदर्शनका साथ इटालीमाथि लगातार हैकम जमाउन सफल भइसकेको थियो। इंग्ल्यान्डले यस खेलमा पनि इटालीलाई २–० गोलले पछि पारेको थियो। 

सन् १९५२ मा दुईबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यस्तै सन् १९५९ मा इंग्ल्यान्ड र इटालीले २–२ गोलको बराबरी खेलेका थिए। १९६१ मा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले इटालीलाई ३–२ गोलले हराएको थियो। सन् १९७३ मा भएको दुईबीचको खेलमा भने इटालीले २–० गोलले बाजी मारेको थियो। 

यस्तै इंग्ल्यान्ड र इटालीबीच फिफा वल्र्डकपमा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमध्ये इटालीले ४ खेलमा जित हासिल गरेको छ भने दुई खेल इंग्ल्यान्डको नाममा रहेको छ। दुईबीच एक खेल बराबरीमा सकिएको छ। 

त्यस्तै यरोकपमा भने हालसम्म दुईबीच दुई पटक मात्र प्रतिस्पर्धा भएको छ। युरोकप १९८० मा दुईबीच भएको पहिलो भेटमा इंग्ल्यान्ड १–० गोलले विजयी भएको थियो। यस्तै २०१२ मा भएको दोस्रो खेलमा इटालीले पेनाल्टीमार्फत इंग्ल्यान्डलाई ४–२ गोलले हराएको थियो। 

जारी युरोकपको समुह चरणको खेलमा इङ्ल्यान्ड अपराजित रहदै समूह डीबाट विजेताको बनेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले हराएको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको थियो। नकआउट चरणको खेलमा जर्मनीलाई २–० हराएको इंग्ल्यान्डले क्वाटरफाइनलमा ४–० गोल अन्तरले पराजित गरेको थियो। 

यता इटाली पनि अपराजित रहदै समुह एको विजेता बनेको थियो । इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको इटालीले अन्तिम खेलमा वेल्सलाई १–० ले हराएको थियो । इटालीले नकआउटमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा भने बेल्जियमलाई २–१ गोलले पराजित गरेको थियो। 

Logo