मेस्सी, ‘सुपर क्लासिको’ र माराकाना

मेस्सी, ‘सुपर क्लासिको’ र माराकाना


खेल सकिए लगत्तै लियोनल मेस्सी आफूतिर फर्किएका सयौं क्यामेराहरुलाई छल्दै चेन्जिगं रुमभित्र पसे । उनलाई प्रतियोगिताको उत्कृष्ट खलाडी घोषणा गरिएको थियो। तर त्यसमा उनलाई कुनै ध्यान थिएन। उनको गोल्डेन बल टोलीका अर्का सहकर्मीले ग्रहण गरिदिए। 

सन् २०१४ मा ब्राजिलको रियो दी जेनेरियोस्थित ऐतिहासिक माराकाना रगंशालामा फाइनल खेलपछि मेस्सीले खोजेको ट्रफी त्यो थिएन । उनलाई त विश्वकपको ट्रफी जित्नु थियो। तर उनको टोली अर्जेन्टिना जर्मनीसँग पराजित हुँदै रनरअपमा सिमित भयो। 

तर आइतबार बिहान, सात वर्षपछि, त्यही ऐतिहासिक माराकानामा मेस्सिले नयाँ इतिहास रचे । उनले करीब तीन दशकपछि अर्जेन्टिनालाई पहिलो उपाधी त दिलाए नै, आफ्नो पनि कहिले ठूलो उपाधी जित्न नसक्ने खेलाडी भनेर लागेको कलंकलाई पखाले।

हो, अब मेस्सीलाई कसैले पनि अर्जेन्टिनाका लागि केही जित्न सकेन भनेर भन्ने छैन। माराकानामा उनले अर्जेन्टिनाको चीरप्रतिद्वन्द्वि मुलुक ब्राजिललाई उसैको घरमा एक शून्य गोलले पराजित गर्दै कोपा अमेरिका २०२१ को उपाधी दिलाए। 

अर्जेन्टिनाका लागि भन्दा पनि यो उपाधी मेस्सीका लागि धेरै जरुरी थियो । कम्तिमा उनका फ्यानहरु यस्तै सोच्थे । खेलपछि माराकानाभित्रको दृश्य पनि त्यस्तै देखिन्थ्यो । सबै खेलाडीले मेस्सीलाई बोकरमाथि हावामा फालिरहेका थिए । एकपछि अर्को गर्दै सबैले उनलाई अंगालो मारे। पराजित टोली ब्राजिलका खेलाडी पनि उनलाई अंगालो मार्न आफ्नो पालो पर्खिरहेका थिए। 

तिनै मध्येका एक थिए, ब्राजिलीयन फुटबलका पोष्टर ब्वाय, नेमार । मेस्सी र नेमारको सम्बन्ध निकै प्रगाढ छ । युरोपेली फुटबल क्लब बार्सिलोनामा यी दुई खेलाडीलेसँगै चार वर्ष बिताए । र, त्यहाँ रहँदा क्लब फुटबलका लगभग सबै उपाधीसँगै जिते। 

डिफेण्डिगं च्याम्पियन रहेको आफ्नो टोलीलाई हराएकोमा नेमारले मेस्सीलाई लामै अंकमाल गर्दै वधाई दिए । सन् १९९३ यता पहिलो पटक कुनै मुख्य प्रतियोगिताको उपाधी जित्नु पक्कै पनि अर्जेन्टिना र मेस्सीका लागि सुखद् थियो। 

२८ वर्षको उपाधीविहिन यात्रामा अर्जेन्टिनाले चार पटक कोपा र एक पटक विश्वकपको फाइनल खेल्यो । तर फाइनलमै पराजित रह्यो र कुनै उपाधी जित्न सकेन । मेस्सीले ती पाँच मध्ये चार फाइनल खेले, जसमा निराशा मात्र हात लाग्यो। 

सन् २०१६ को कोपा अमेरिका फाइनलमा उनी पेनाल्टीमा गोल गर्न चुके । नतिजा, उपाधी चिलीलाई सुम्पनु पर्यो। रिसको झोंकमा उनले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट अचानक सन्यास लिएको घोषणा गरे । 

उनको सन्यासको घोषणा मिनेटभरमै विश्व भर फैलियो । उनका करोडौं फ्यान निराश भए । यतिसम्मकी, अर्जेन्टिनाका तत्कालिन राष्ट्रपतिले मेस्सीलाई सन्यास फिर्ता लिंदै राष्ट्रिय जर्सिमा पुनः देखिन आग्रह गरे । 

अन्ततः सबैको आग्रहलाई स्विकार्दै मेस्सी अर्जेन्टिनाका लागि खेल्न राजी भए । त्यसपछि उनले राष्ट्रिय टोलीका लागि एकपछि अर्को गोल गर्दै आइरहेका थिए । तर, यसबिचमा विश्वकप २०१८ मा टोलीले एकपटक फेरि निराशाको सामना गर्नुपर्यो । 

२८ वर्षको उपाधीविहिन यात्रामा अर्जेन्टिनाले चार पटक कोपा र एक पटक विश्वकपको फाइनल खेल्यो । तर फाइनलमै पराजित रह्यो र कुनै उपाधी जित्न सकेन । मेस्सीले ती पाँच मध्ये चार फाइनल खेले, जसमा निराशा मात्र हात लाग्यो। 

सबैले भनिरहेका थिए, मेस्सीले आफ्नो सुनौलो करिअरमा अर्जेन्टिनाका लागि केही पनि जित्ने छैनन् । तर ३४ वर्षिय मेस्सीले हरेस खाएनन् । आफू सुहाउँदो राष्ट्रिय टोली बनाउन अर्जेन्टिनी फुटबल संघलाई सहयोग गरिरहे । उनकै आग्रहमा अर्जेन्टिनी फुटबल संघले युवा प्रशिक्षकका रुपमा ४३ वर्षिय लियोनल स्कोलानीलाई नयाँ प्रशिक्षकका रुपमा भित्र्यायो।  

आखिर त्यो दिन आएरै छाड्यो। त्यो पनि अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सबैभन्दा चीरप्रतिद्वन्द्वि टोली ब्राजिलको घरेलु मैदान र उसकै ऐतिहासिक रंगशाला, माराकानामा। 

अर्जेन्टिना र मेस्सीले कोपा अमेरिकाको ४७औं संस्करण जितेरै छाडे । दक्षिण अमेरिकी फुटबलमा अर्जेन्टिना र ब्राजिलबिचको खेललाई सुपर क्लासिकोको उपमा दिइने गरिन्छ । अर्थात, सर्वाधिक प्रतिष्ठित भिडन्त । र, यो भिडन्तमा अब्बल सावित भए मेस्सि र उनको टोली अर्जेन्टिना। 

माराकानामा २८ वर्षपछिको उपाधी खडेरी तोड्दै गर्दा मेस्सि प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । त्यतिमात्र होइन, उनी कोपा अमेरिका २०२१ को सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगितामा उनले कुल चार गोल गरे।   

सात वर्ष अघि, यही माराकानामा, सन् २०१४ को विश्वकपमा पनि प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएपछि गोल्डेन बल लिन उत्साहित नदेखिएका मेस्सी आइतबार बिहान, त्यही गोल्डेन बल लिंदा भने निकै मुस्कुराए। 

उपाधी जितेपछि मेस्सिले अर्जेन्टिनाकै अर्का सुपरस्टार खेलाडी डिएगो म्याराडोनालाई सम्झिए । २८ वर्ष अघि मेक्सिकोलाई पराजित गर्दै कोपा अमेरिकाकै उपाधी जित्दा अर्जेन्टिनी टोलीका हिरो थिए, म्याराडोना । आठ महिनाअघि म्याराडोनाको निधन भएको थियो। आफूले राष्ट्रिय टोली छाडेपछि अर्जेन्टिनाले उपाधी जितेको भने म्याराडोनाले हेर्न पाएनन्।  

अब विश्वभरका मेस्सीका करोडौं फ्यानको एउटै चाहाना छ । अर्जेन्टिनी राष्ट्रिय टोलीले मैदानमा यही लय कायम राखोस् र मेस्सीकै लागि अर्को वर्ष कतारमा हुने २०२२ को विश्वकप पनि उचालोस्।   

कोपाको उपाधीसँगै मेस्सिले आफ्ना आलोचकलाई गतिलो जवाफ दिएका छन् । अब आजबाट भन्न सकिन्छ, मेस्सी आफ्नो क्लब बार्सिलोनाका लागि मात्रै उपाधी जित्दैनन्, राष्ट्रिय टोली अर्जेन्टिनाका लागि पनि उपाधी जित्छन्।  

Logo