टोकियो ओलम्पिकमा ७० देशका खेलकुदमन्त्री सहभागी हुने

टोकियो ओलम्पिकमा ७० देशका खेलकुदमन्त्री सहभागी हुने


जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।   

प्रतियोगिताका आयोजकहरूले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरूसँग भने, “१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।”

शीर्ष नेताहरूको उपस्थीतिलाई आफूहरूले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने उनले जानकारी दिए। महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरूले अपेक्षा गरेका छन् ।

अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो ।प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन् । प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Logo