जर्सी नम्बर १० : पेलेदेखि मेस्सीसम्म

जर्सी नम्बर १० : पेलेदेखि मेस्सीसम्म


हरेक खेलमा खेलाडीले लगाउने जर्सी नम्बरको विशेष महत्व हुने गर्दछ। फुटबल जगतमा झनै जर्सीको विशिष्ट महत्व रहन्छ। फुटबल इतिहासमा जर्सी नम्बर १० जस्तो चर्चित र आइकनिक नम्बर सायद अरु छैन। विशेषगरी हरेक टोलीको प्रमुख प्ले–मेकरले लगाउने यो जर्सी नम्बर फुटबल जगतमा निकै उत्कृष्ट खेलाडीले लगाएका छन्।  

फुुटबल खेलमा जर्सी नम्बर १० लगाउने खेलाडीलाई उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ। मैदानमा जर्सी नम्बर १० देख्नेबित्तिकै हाम्रो मानसपटलमा पक्कै यसले राम्रो खेल्छ भन्ने सोच उत्पन्न भइहाल्छ। हुन पनि जर्सी नम्बर १० ले ती खेलाडीलाई संकेत गर्छ, जसले एक टोलीको मिडफिल्ड वा आक्रमण पंक्तिलाई जोड्ने गर्छ र, उसले प्रशस्त मात्रामा गोल पनि गर्ने गर्छ। 

फुटबल इतिहासमा विश्वका थुप्रै आइकनिक खेलाडीले जर्सी नम्बर १० लगाएका छन्। आज हामी तीमध्ये सबैभन्दा उत्कृष्ट र प्रसिद्ध ७ खेलाडीका बारेमा चर्चा गर्न गइरहेका छौं। 

१. पेले
फुटबल जगतमा पेलेको नाम नसुन्ने व्यक्ति सायदै बिरलै होलान्। ब्राजिलियन पूर्वमहान् फुटबलर पेले २० औं शताब्दीमा फुटबलका राजा भनेर चिनिन्थे। उनी २० औं शताब्दीका एक सफल र लोकप्रिय खेलाडी हुन्। फुटबललाई विश्वव्यापी बनाउन सबैभन्दा ठूलो योगदान पेलेको रहेको छ। 

पेलेको खेल कौशल र प्रतिभावान प्रदर्शनलाई अहिले पनि सम्झिने गरिन्छ। यिनै कारण उनलाई समर्थक, आलोचक र विशेषज्ञले सर्वश्रेष्ठ खेलाडीका रूपमा सम्मान गरेको थियो। यस्तै, सन् २०१२ मा फिफाले समेत सर्वश्रेष्ठ खेलाडीको उपमा प्रदान गरेको थियो। 

सन् १९४० अक्टोबर २३ मा ट्रेस कोरकोएस ब्राजिलमा जन्मिएका पेलेले आफ्नो खेल जीवनमा कूल १ हजार ३ सय ६३ खेल खेले, जसमा उनले कूल १ हजार २ सय ७९ गोल गरे, जुन वल्र्ड रेकर्डको रुपमा मान्यता प्राप्त छ। 

पूर्ण फरवार्डको संज्ञा पाएका पेलेले टिनएजरका रूपमा सन् १९५८ को विश्वकप उपाधि जित्न सफल भएका थिए। उनले उक्त फाइनलमा गोलसमेत गरेका थिए। सन् १९६२ मा पनि विश्वकप जितेका थिए भने सन् १९७० मा पनि टिमलाई विश्वकप जिताउँदै उनी तीन पटकको कीर्तिमानी बनाउन सफल भए।

जर्सी नम्बर १० लगाएर मैदान उत्रिएका पेलेले आफ्नो खेल जीवनमा थुप्रै कीर्तिमान बनाए। ८० वर्षीय पेलेलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले एथ्लेट अफ सेन्चुरी घोषित ग¥यो। उनी २० औं शताब्दीका एक सय महत्वपूर्ण व्यक्तिको सूचीमा सामेल भएका थिए। पेलेले १५ वर्षको उमेरमै सान्तोस क्लब र ब्राजिलको राष्ट्रिय टोलीबाट फुटबल खेल्न सुरु गरेका थिए। 

२. डिएगो म्याराडोना 
सन् १९६० अक्टोबर ३० मा अर्जेन्टिनामा जन्मेका फुटबलर डिएगो म्याराडोना आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै दुई मत छैन।  गत वर्ष हृदयाघातका कारण ६० वर्षको उमेरमै उनले ज्यान गुमाए। म्याराडोनालाई न कुनै परिचयको खाँचो छ, न त कुनै उपमाको। आफैंमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको नाम हो–म्याराडोना। उनी पेलेको सच्चा उत्तराधिकारी पनि थिए। उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता। 

अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा जन्मेको बालकको नाम हो ‘डिएगो अर्मान्डो म्याराडोना फ्रान्को’। उनले आठ वर्षको उमेरमै स्थानीय क्लब इस्ट्रला रोजामा खेलेका थिए। 

१६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका उनले ९१ खेलमा ३४ गोल गरेका थिए। उनले आफ्नो टोलीलाई दुई पटक विश्वकपको फाइनलमा पु¥याएका थिए। म्याराडोना र विश्वकपको कुरा गर्दा सम्झनामा आउँछ उनले सन् १९८६ को विश्वकपमा हातले गरेको गोल। क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले हातले गरेको गोल विश्व फुटबलको एक अनौठो गोल मानिन्छ। जुन गोल पछि ‘ह्याण्ड अफ गड’का रुपमा परिचित भयो। यही वर्ष म्याराडोनाको टिमले विश्वकपको उपाधि उचाल्यो। जसमा उनले गोल्डेन बुटसमेत प्राप्त गरे।

सन् १९९४ को विश्वकपमा भने उनी लागूऔषध परीक्षणमा असफल भएकाले बीचबाटै घर फर्किन बाध्य भएका थिए। क्लब स्तरमा बार्सिलोनामा सफल सिजनपछि उनी न्यापोलीसँग अनुबन्ध भए र एकल रूपमा न्यापोलीलाई सरी–ए च्याम्पियन बनाउन सफल भएका थिए। बार्सिलोनामा हुँदा सुरू भएको म्याराडोनाको कोकिनसँगको प्रेमले नापोलीमा लतको रुप लियो। मैदानमा बलसँग रमाउने उनी त्यसबाहिर कोकिनमा झुम्न थाले। यसले उनलाई फुटबलबाट १५ महिनासम्म प्रतिबन्धको अँध्यारोमा धकेलेको थियो। नापोलीमा उनको यात्रा यही कोकिनका कारण टुंगिएको थियो। तर, यी सबै उतारचढावका बीच पनि उनले फुटबल इतिहासमा अतुलनीय योगदान दिएका छन्। त्यसैले फुटबल इतिहासमा जर्सी नम्बर १० म्याराडोना सधै अमर रहनेछ। 

३. लियोनल मेस्सी 
पछिल्लो दशकमा जर्सी नम्बर १० को अर्थ नै मेस्सीजस्तो भएको छ। सन् १९८७ जुन २४ मा जन्मेका ३४ वर्षीय मेस्सीले २००८ मा पहिलो पटक नम्बर १० भएको जर्सी लगाएका थिए। त्यसपछि मेस्सीले उक्त जर्सीमा फुटबल समर्थकलाई थुप्रै अविस्मरणीय पल दिएका छन्। 

मेस्सीले हालै मात्र २८ वर्षपछि आफ्नो टिम अर्जेन्टिनालाई कोपा अमेरिका २०२१ को उपाधि दिलाएका छन्। यस प्रतियोगितामा उनले ४ गोल तथा ५ असिस्ट गरेर सर्वाधिक गोलमा योगदान दिने मेस्सी नम्बर वान खेलाडी समेत बने। त्यत्ति मात्रै हैन, उनले प्रतियोगिताको ४ खेलमा म्यान अफ द म्याच अवार्डसमेत हात पारे। 

फुुटबल खेलमा जर्सी नम्बर १० लगाउने खेलाडीलाई उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ। मैदानमा जर्सी नम्बर १० देख्नेबित्तिकै हाम्रो मानसपटलमा पक्कै यसले राम्रो खेल्छ भन्ने सोच उत्पन्न भइहाल्छ। हुन पनि जर्सी नम्बर १० ले ती खेलाडीलाई संकेत गर्छ, जसले एक टोलीको मिडफिल्ड वा आक्रमण पंक्तिलाई जोड्ने गर्छ र, उसले प्रशस्त मात्रामा गोल पनि गर्ने गर्छ। 

मेस्सीले राष्ट्रिय टिम अर्जेन्टिना होस् या क्लब बार्सिलोना दुवैबाट उत्कृष्ट खेल पस्किँदै आइरहेको छ। अझ भनौं उनले हान्ने फ्रिकिकको त बयान गर्ने कुनै शब्दै छैन। हालै सम्पन्न भएको कोपा अमेरिकामा पनि मेस्सीले उत्कृष्ट दुई गोल फ्रिकिकमार्फत् गरेका थिए। हालसम्म मेस्सीले अर्जेन्टिनाका लागि १ सय ५० खेलमा ७८ गोल गरिसकेका छन्। 

केही फुटबल समर्थकले त मेस्सीको संन्यासपछि अर्जेन्टिना र बार्सिलोनाले जर्सी नम्बर १० कुनै पनि खेलाडीलाई लगाउन दिन नहुने पनि बताएका छन्। 

४. जिनेदान जिदान 
फ्रान्सेली पूर्वस्टार फुटबलर जिनेदान जिदानले क्लब फुटबलमा कहिल्यै पनि जर्सी नम्बर १० लगाएनन्। तर, उनले फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा १० नम्बर जर्सी लगाएर खेल्ने गर्थे। सन् १९७२ जुन २३ मा जन्मेका जिदानले सन् १९९८ मा फ्रान्सलाई विश्व विजेता बनाउन प्रमुख भूमिका खेलेका थिए। यस्तै फ्रान्स २००० को युरोपियन च्याम्पियन हुँदा पनि जिदान प्रतियोगिताको बेस्ट प्लेयर घोषित भएका थिए।

फ्रान्सेली शीर्ष डिभिजन बोर्डोमा आफूलाई सर्वश्रेष्ठ खेलाडीका रुपमा स्थापित गर्नुअघि जिदानले क्यान्समा आफ्नो करिअर सुरु गरेका थिए।
 
जिदानले सन् २००२ को युईएफए च्याम्पियन्स लिग फाइनलमा बायाँ खुट्टाले गरेको गोल फ्रान्सका लागि विजेता गोल बनेको थियो । जुन उक्त प्रतिस्पर्धाको इतिहासको सबैभन्दा उत्कृष्ट गोलसमेत हो। जसमा उनी प्लेयर अफ द टुर्नामेन्ट साथै गोल्डेन बल हकदारसमेत बनेका थिए। 

५. रोनाल्डिन्हो 
ब्राजिलियन दिग्गज फुटबलर रोनाल्डिन्होले आफ्नो कला र क्षमताको कारण नम्बर १० जर्सीलाई नयाँ अर्थ पनि दिएका छन्। उनको अविश्वसनीय कला र मीठो मुस्कान हरेक एक समर्थकको मन जित्न सफल थियो। सन् १९८० मार्च २१ मा जन्मिएका उनले आफ्नो करिअरको प्रायः समय १० नम्बर जर्सी लगाएर खेलेका थिए। तर, उनको सबैभन्दा जादुमय खेल भने बार्सिलोनामा रहँदा फुटबल जगतले देख्न पायो। 

ब्राजिलका पूर्वखेलाडी रोनाल्डिन्होले बार्सिलोनाको १० नम्बर जर्सीमा २ सय ७ खेलमा ९८ गोल गर्न सफल भएका थिए। उनी प्रायः आक्रमणकारी मिडफिल्डरको रुपमा खेल्थे। उनी आफ्नो पुस्ताका सर्वश्रेष्ठ खेलाडी मध्येका एक मानिन्छ। 

रोनाल्डिन्होले दुईपटक फिफा वर्ल्ड प्लेयर अफ द इयर र एकपटक बालोन डे ओर अवार्ड हात जितेका छन्।   

६. नेयमार 
अहिलेका ब्राजिलियन स्टार फुटबलर नेयमारले लगाउने जर्सी नम्बर पनि १० नै हो। ब्राजिलियन फुटबलको सुनौलो युग समाप्त भएको भन्दै गर्दा २९ वर्षीय नेयमार एक आशाको केन्द्र भएर आएका छन्। 

नेयमारले हालै सम्पन्न भएको कोपा अमेरिका २०२१ मा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका थिए। तर, उनको टिम फाइनलमा अर्जेन्टिनासँग पराजित भयो। उत्कृष्ट प्रदर्शन गरेका उनी मेस्सीसँगै सर्वोत्कृष्ट खेलाडी घोषित भए। 

नेयमारले सबैभन्दा ठूला खेलाडी पेलेलाई पछ्याइरहेका छन्। १८ वर्षको उमेरमा ब्राजिलियन फुटबल जगतमा आधिकारिक प्रवेश गरेका नेमारले ब्राजिलका लागि १ सय ११ खेल खेल्दै ६८ गोल गरिसकेका छन्। ७७ गोलसहित पेले ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। नेयमारलाई उनको फुटबल करियरको सुरुआतदेखि नै पेले, रोनाल्डो, रोनाल्डिन्होजस्ता ब्राजिलियन फुटबलका हस्तीको उत्तराधिकारीका रूपमा हेरिँदैछ। उनले सन् २०१६ मा ब्राजिललाई ओलम्पिकमा फुटबलतर्फको स्वर्ण जिताउँदा उनी कप्तानको भूमिकामा थिए।

ब्राजिलियन क्लब सान्तोसका लागि १७ वर्षको उमेरमा खेल्न सुरु गरेका उनले सान्तोसका लागि १ सय ७७ खेल खेल्दै १ सय ७ गोल गरेका थिए। यस्तै २०१३ देखि स्पेनिस फुटबल क्लब बार्सिलोनाका लागि खेलेका उनी हाल भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आबद्ध छन्। 

७. केइलिन एम्बाप्पे
सन् १९९८ मा जन्मिएका २२ वर्षे युवा खेलाडी एम्बाप्पे अहिलेको जर्सी नम्बर १० लगाउने एक उदाउदो स्टार हुन्। क्लबबाट १० नम्बर जर्सी नलगाए पनि उनी राष्ट्रिय टिममा भने १० नम्बर जर्सीमै मैदान उत्रिन्छन्। उनले क्लबमा नम्बर १० जर्सी नलगाउनुको कारण भने नेयमार र उनी एउटै क्लब पेरिस सेन्ट–जर्मनसँग आबद्ध छन्। 

१९ वर्षको उमेरमै एम्बाप्पेलाई विश्वकै उत्कृष्ट युवा फुटबलर घोषणा गर्नुका साथै उनलाई फुटबल जगतको उदाउँदो नक्षत्रको रुपमा समेत चित्रण गरिएको छ। सन् २०१५ मा मोनाको क्लबबाट व्यवसायिक फुटबलमा डेब्यू गरेका उनले आफ्नो जादुमय खेलले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल भए। 

सन् २०१८ को फिफा विश्वकपमा फ्रान्सका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका एम्बाप्पेले हालै सम्पन्न भएको  युरोकप २०२० मा भने निराशाजनक प्रदर्शन गरे। प्रि–क्वाटरफाइनलको खेलमा उनी स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा उनको टिम प्रतियोगिताबाट बाहिरिएको थियो।

Logo