टोकियो ओलम्पिकमा कीर्तिमान राख्न सक्ने १० खेलाडी (भिडियाेसहित)

टोकियो ओलम्पिकमा कीर्तिमान राख्न सक्ने १० खेलाडी (भिडियाेसहित)


विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३२ औं संस्करण  शुक्रबारदेखि सुरु भएको छ। विश्वका झन्डै २ सय ७ राष्ट्रले सहभागिता जनाउने यस प्रतियोगिता जापानको टोकियोमा आयोजना गरिएको हो।

प्रत्येक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ भने दर्शकलाई कुन खेलाडीले कस्तो खेल प्रदर्शन गर्लान् भन्ने कुरा चासोको विषय बन्छ। टोकियो ओलम्पिक २०२० मा पनि खेलाडीको कस्तो खेल खेल्लान् भन्ने सबैको चासो बढेको छ। 

ओलम्पिक डट कमले तयार पारेको सूची अनुसार यस पटकको ओलम्पिकमा कीर्तिमान राख्नसक्ने १० खेलाडीको बारेमा चर्चा गर्न गइरहेका छौं। उनीहरुले यसभन्दा अघि एकभन्दा बढी स्वर्ण पदक जितिसकेका छन्। यस पटक पनि स्वर्ण पदक जितेमा उनीहरूले कीर्तिमान बनाउन सक्छन्। 

काएलेब ड्रेसेल, पौडी
अमेरिकाका काएलेब ड्रेसेल सय मिटर फ्रिस्टाइल पौडी ४० सेकेन्डभन्दा कम समयमा पौडिने पहिलो खेलाडी हुन्। तर, ओलम्पिकमा भने उनको कीर्तिमान छैन। उनले सन् २०१६ को रियो ओलम्पिकमा एक गुणा सय मिटर फ्रिस्टाइल र चार गुणा सय मिटर मिडले रिलेमा स्वर्ण जितेका थिए। 

हाल उनले सय मिटर बटरफ्लाई, ५० मिटर फ्रिस्टाइल र सय मिटर इन्डिभिजुअल मिडलेमा कीर्तिमान राखेका छन्। यदि उनले यस्तै लय कायम राखे टोकियोमा पनि कीर्तिमान राख्नेछन्।

इलिउड किपचोगे,  एथ्लेटिक्स
केन्याका इलिउड किपचोगे सन् २०१९ मा दुई घन्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका थिए। टोकियो ओलम्पिकमा उनको लक्ष्य स्वर्ण हासिल गर्नु हो। यदि उनले म्याराथनमा स्वर्ण जिते ओलम्पिक इतिहासमा दुई स्वर्ण जित्ने तेस्रो खेलाडी हुनेछन्। 

यसअघि इथियोपियाका अबेबे बिकिलाले सन् १९६० र १९६४ तथा पश्चिम जर्मनीका वाल्डेमार सिएपिन्स्कीले सन् १९७६ र १९८० मा जितेका थिए।

टेडी रिनेर, जुडो
१० पटकका विश्व च्याम्पियन फ्रान्सका रिनेर जुडोको १०० केजीमाथीको स्पर्धामा पछिल्ला दई संस्करणका स्वर्ण विजेता हुन्। उनले २०१२ र २०१६ मा स्वर्ण जितेका थिए।

उनी २०२० फेब्रुअरीसम्म लगातार १ सय ५४ खेलसम्म अपराजित थिए। उनी जुडोमा लगातार तेस्रो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा छन्। ओलम्पिकमा अहिलेसम्म कसैले पनि यस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्।

सिमोन बेल्स, जिम्यास्टिक
अमेरिकाकी सिमोन बेल्स विश्वकै उत्कृष्ट जिम्यास्टक खेलाडी हुन्। उनले रियो ओलम्पिक २०१६ मा चार स्वर्ण र एक कास्य जितेकी थिइन्। त्यसैले उनी यस ओलम्पिकमा अलराउन्डमा लगातार स्वर्ण जित्ने पहिलो महिला खेलाडी बन्ने लक्ष्यमा रहेकी छिन्।

एलिसन फेलिक्स, एथ्लेटिक्स
अमेरिकन एलिसन फेलिक्स पाँचौं तथा अन्तिम ओलम्पिक खेल्दैछिन्। फेलिक्सले यसअघि नै ओलम्पिकमा ६ स्वर्ण र ३ रजत पदक जितेकी छन्। यसले उनलाई इतिहासकै सफल महिला एथ्लेट बनाएको छ। यस ओलम्पिकमा थप एक स्वर्ण जितेमा उनले अमेरिकाबाट धेरै स्वर्ण जित्ने कार्ल लेविसको कीर्तमानसँग बराबरी गर्नेछिन्।

केटी लेडेकी, पौडी
अमेरिकाकी २४ वर्षीया लेडेकीले ६ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। जसमा महिला १५ सय मिटर पनि समावेश छ । १५ सयमा उनी पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन्। लेडेकीलाई यस विधामा हराउन कठिन हुनेछ। उनले यसमा विश्व कीर्तिमान राखेकी छिन्।

लाउर र जासोन केन्नी,  ट्रयाक साइक्लिङ
ट्रयाक साइक्लिङ पावर कपल लाउरा र जासोन केन्नी आफ्नो स्पर्धामा रेकर्ड ब्रेकर नै हुन्। बेलायतका जासोनले रियो ओलम्पिकमा क्रिस होएको ६ स्वर्ण जित्ने ब्रिटिस खेलाडीको कीर्तिमानसँग बराबरी गरेका थिए। यस्तै, उनकी श्रीमती लायराले चौथो स्वर्ण जितेकी थिइन्। त्यसैले टोकियोमा श्रीमान–श्रीमती दुवै थप स्वर्ण जित्न सक्षम छन्।

शेली अन फ्रेजर, एथ्लेटिक्स
फ्लोरेन्स ग्रिफिथ जोयनरपछि विश्वकै दोस्रो फास्टेस्ट महिला खेलाडी हुन्, ३४ वर्षकी जमैकन शेली अन फ्रेजर। सय मिटरमा अहिले उनलाई हराउन जो कोहीलाई कठिन छ। राइजिङ स्टार अमेरिकन शा कारी रिचर्डसन सहभागी नभएको अवस्थामा शेली १०० मिटरमा तेस्रो पटक स्वर्ण जित्ने लक्ष्यमा छिन्। शेलीले सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् । २०१६ को रियो ओलम्पिकमा भने उनले कास्य जितेकी थिइन्।

उचिमुरा कोहेइ, जिम्यास्टिक
तीन पटकको ओलम्पिक विजेता जापानिज उचिमुरा कोहेई चौथो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । ४४ वर्षपछि अलराउण्डमा स्वर्ण रक्षा गरेपछि किङको रुपमा परिचित कोहेई यस पटक घरेलु भूमिमा फरक इभेन्टमा खेल्दैछन्। उनी होरिजेन्टन बारमा पहिलो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा छन्।

Logo