बन्द प्रशिक्षणका फुटबल खेलाडीलाई १० दिनको विश्राम

बन्द प्रशिक्षणका फुटबल खेलाडीलाई १० दिनको विश्राम


राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीलाई १० दिनको विश्राम दिइएको छ । आसन्न साफ च्याम्पियनसिप र एसिया कपको अन्तिम छनोटको तयारीमा रहेको राष्ट्रिय टिमलाई १० दिनको बिदा दिइएको हो ।

लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीले परिवारसँग केही समय बस्न अनुरोध गरेपछि खेलाडीलाई विश्राम दिइएको हो । साफ च्याम्पियनसिपसमेत केही समयको लागि सरेपछि खेलाडीले छुट्टी पाएका हुन् । साफको तयारीमा रहेको नेपाललाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । 

मुख्य प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि आरोप लगाउदै राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविनका लागि एन्फाले मन्त्रालयलाई आग्रह गरेको छ । करिब १० दिनमा खेलाडीलेसमेत विश्राम पाउने र छानविन समेत टुङ्गो लाग्ने एन्फाको अपेक्षा छ ।

छानविनको टुङ्गो नलागेसम्म प्रशिक्षणमा नदेखिने अलमुताइरीले बताएका थिए । तर शनिबार एन्फा कप्लेक्समा भएको मैत्रीपूर्ण खेलमा भने उनी मैदानमा देखिएका थिए । प्रत्येक शनिबार प्रशिक्षकले खेलाडीबीच मैत्रीपूर्ण खेल खेलाउने गर्छन् । उनले शनिबार नीतिन थापा र पुजन उपरकोटी नेतृत्वको टिम मैदान उतारेका थिए ।

 

Logo