‘ओलम्पिक’ मेडलको मूल्य कति?

‘ओलम्पिक’ मेडलको मूल्य कति?


ओलम्पिकका स्वर्ण, रजत र कास्य तीनै पदकको व्यास (डायमिटर) ८५ मिलिमिटर र मोटाइ ७.७ देखि १२.१ मिलिमिटरका बीच हुने गर्छ। 

वास्तविकतामा ओलम्पिकको स्वर्ण पदक सुनको जलप लगाइएको शुद्ध चाँदीबाट बनेको हुन्छ, जसमा पदकको जम्मा ५५६ ग्राम तौलमा ६ ग्राम मात्र सुन हुने गर्छ। रजत पदक शुद्ध ५५० ग्राम चाँदीबाट बनेको हुन्छ भने ४५० ग्रामको कास्य पदक ९५ प्रतिशत तामा र ५ प्रतिशत जिन्कबाट बनेको हुन्छ। 

आजको अन्तर्राष्ट्रिय दरमा स्वर्ण पदकको मूल्य ८०० डलर, रजत पदकको मूल्य ४५० डलर र कास्य पदकको मूल्य पाँच डलर हुन आउँछ। 

तर, ओलम्पिक मेडलले सुन, चाँदी वा कास्यका साधारण टुक्राभन्दा बढी महत्व राख्छ। यसै महिनाको सुरुवाततिर सन् १८९६ मा एथेन्समा आयोजना भएको पहिलो आधुनिक ओलम्पिक खेलका एक विजेताको पदक १ लाख ८० हजारमा लिलाम भएको थियो भने सन् २००० र सन् २०१२ मा भएका ओलम्पिकका स्वर्ण पदक क्रमशः ७१ हजार ५ सय ३५ डलर र ७३ हजार २ सय डलरमा लिलाम भएका थिए। 

तीनवटै मेडल अमेरिकाको बोस्टनस्थित ‘आरआर अक्सन’ले लिलाम गरेको थियो। सन् १८९६ मा एथेन्समा आयोजना भएको पहिलो आधुनिक ओलम्पिक खेलमा सबै विजेतालाई रजत र उपविजेतालाई कास्य पदक दिइएको थियो। 

तर, यी तीन मेडल लिलाम भएको मूल्यभन्दा बढीमा पनि ओलम्पिक मेडल लिलाम भएको इतिहास छ। सन् १९३६ को बर्लिन ओलम्पिकमा जेसी ओवेन्सले जितेको स्वर्ण पदक सन् २०१३ मा १४ लाख ६० हजारमा लिलाम भएको थियो। 

यो मेडल ओलम्पिकको इतिहासमै महत्वपूर्ण मानिन्छ। बर्लिन ओलम्पिकमा काला जातीका जेसी ओवेन्सले ४ स्वर्ण जितेका थिए। 

(सीएनएनको सहयोगमा)

Skip This
Logo