तेक्वान्दोका तीन नेपाली खेलाडीलाई स्वर्ण

तेक्वान्दोका तीन नेपाली खेलाडीलाई स्वर्ण


नेपालका तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। 

डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालका सञ्जीव नेपाली, सन्दीपा अमगाईँ र प्रेमकुमार दर्नालले स्वर्ण पदक जितेका हुन्।

सञ्जीव नेपालीले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण पदक हात पारे। सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए। यस्तै महिला १८–३० वर्षमुनि उमेर समूहमा सन्दीपा अमगाईंले सफलता पाइन्। उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन्। सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन्।

नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते। प्रेमकुमारले कुल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए। थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए। 

गत जुलाई ३१ देखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा आयोजक टोलीका राष्ट्रद्वय अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

Logo