पारसले खुलाए-क्रिकेटबाट संन्यास लिनु ‘व्यक्तिगत कारण’

पारसले खुलाए-क्रिकेटबाट संन्यास लिनु ‘व्यक्तिगत कारण’


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेर धेरैलाई आश्चर्यमा पारेका छन्। पारसले सामाजिक सञ्जालमार्फत् आफ्नो करिब दुई दशकको क्रिकेट करिअर अन्त्य गरेको घोषणा गरेका हुन्।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्वकप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन्। उनले क्यानसँग कुनै सरसल्लाह नभई एक्कासि पारसको यस्तो निर्णय आएको बताएका हुन् । 

चन्दले भने ‘आज बिहान साढे सात बजेतिर पारसले क्यानलाई एउटा इमेल पठाएका थिए। जसमा पारसले आजको दिनदेखि म अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदैछु भनी लेखेका थिए।’ 

औपचारिक रूपमा पारससँग कुनै कुराकानी नभएको चन्दको भनाइ छ। ‘पारससँग प्रत्यक्ष रूपमा कुनै कुराकानी नभएकोले यस विषयमा हामी छलफलमै छौं,’ उनले भने। 

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने विषयमा पारसले इमेलमा नितान्त व्यक्तिगत कारण भएको उल्लेख गरेको पनि चन्दले जानकारी गरे। 

आइसीसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको मंगलबारबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी रहेको थियो। तर, यसैबीच पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। 

पारसको संन्यासबारे चन्द भन्छन्, ‘खेलाडीको पनि एउटा चरम हाइटाइम हुन्छ। पारसले आफ्नो हाइ टाइममा गर्नुपर्ने योगदान गरेका थिए। तर, समयको अन्तरालमा खेलाडीको उमेर, स्वास्थ्य, फिटनेसको कारण पहिलेको जस्तो परिस्थिति रहन्न। त्यसैले यो एउटा प्रक्रिया हो यसलाई धेरै आवेगमा लिनुहुँदैन,’ उनी भनछन्। 
 
पारसको अहिले नै सन्यास लिने उपयुक्त समय  भने नभएको उनको ठम्याइ छ। ‘अझै केही समय पारसले नेपालको लागि खेल्ने समय थियो। आफ्नो क्षमतालाई प्रर्दशन गर्ने अवसर अझै बाँकी थियो। त्यसैले पारसको सन्यास लिने निर्णय अर्ली भयो कि जस्तो लाग्छ मलाई,’ उनी थप्छन्। 

तर, पारसले क्यानको कारण अथवा क्यानसँगको सम्बन्धका कारणले भने सन्यास नलिएको चन्दले बताए । कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भएकोले यसबारे क्रिकेट संघको औपचारिक धारणा आउने उनले बताएका छन्।

समग्रमा नेपाली क्रिकेट टिमको दुई वर्षको प्रदर्शनलाई नियाल्ने हो भने विगत चार वर्षको तुलनामा धेरै राम्रो छ। विश्व वरियतामा पनि सुधार भएको छ। यस्तै खेलाडीहरुको व्यक्तिगत वरियतामा पनि सुधार भएको छ।

Logo