१० असोज २०७८ आइतबार

पारसको कप्तानीमा चम्किएको नेपाली क्रिकेट, कसरी बढ्ला अब?

२२ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिम सम्हालेका ३४ वर्षीय पूर्वकप्तान पारस खड्काले सबैलाई आश्चर्यमा पार्दै मंगलबार बिहान अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित रूपमा संन्यासको घोषणा गरे। सन् २००२ देखि १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका खड्काले सामाजिक सञ्जालमार्फत् आफ्नो करिब दुई दशकको अन्तर्राष्ट्रिय क्रिकेट करिअर अन्त्य गर्ने घोषणा गरेका हुन्। यसअघि पारसले २०७६ साल असोज २८ मा कप्तानबाट राजीनामा दिएका थिए। 

पारसले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय गरेको छु। नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।’

पारसले आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धि दिलाए। सिनियर टिममा डेब्यु गरेको पाँच वर्षपछि नै सन् २००९ मा भएको एसीसी टी–२० कपका लागि युवा अलराउन्डर पारस खड्का सिनियर टिमको कप्तानको भूमिकामा थिए। पारसले नेपाली टिमलाई एक दशकसम्म निरन्तर नेतृत्व दिए। पारसलाई उत्कृष्ट कप्तानका रूपमा समेत सम्मान गरिँदै आएको छ।

उत्कृष्ट कप्तान र क्रिकेटर मात्र नभई सेलिब्रिटी खेलाडीको पहिचान बनाएका पारसको संन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको छ । सायदै,अब अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ७७ नम्बरको जर्सी देखिने छैन। अन्तर्राष्ट्रिय खेल मैदानमा ‘पारस’ नामको हुटिङ सुनिने छैन। 

पारस अब घरेलु क्रिकेटमा मात्र देखिनेछन्। सन्यासपछि पारसको पहिलो घरेलु क्रिकेट म्याच आउँदो असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी हुनेछ।

पारसले नेपाली क्रिकेटका विभिन्न आरोहअवरोह देखे। उनी नेपाली क्रिकेटका सुखद र दुःखद पाटाका साक्षी बनेँ। कप्तानी छाडे पनि पारस मैदानमा सधैं टिम लिडरका रूपमा रहिरहे।

अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेट टिमले हात पारेको हरेक सफलता पछाडि पारसको नेतृत्वदायी भूमिकाले काम गरेको छ। कुनै समय डिभिजन–५ मा अड्किएको नेपाली क्रिकेटलाई पारसले टी–ट्वान्टी विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने यात्राको नेतृत्व गरे। 

आइसीसीबाट नेपाली क्रिकेट निलम्बनमा रहँदासमेत उनैले कप्तान र अभिभावकका रूपमा नेपाली क्रिकेटलाई अघि बढाए। तर, त्यसबेला पारसको नेपालका लागि टेस्ट खेल्ने सपना भने अधुरै रह्यो। पारसले टेस्टबाहेक अरु सबै फम्र्याटका खेल खेले। नेपालले टेस्ट राष्ट्रको मान्यता पाएको छैन। तर, उनले भविष्यमा नेपालले टेस्ट खेल्न सक्ने सम्भावना देखिएको बताउने गरेका छन्। पारसजस्तो सफल खेलाडी र कप्तान अब नेपाली क्रिकेटले बिरलै पाउने खेल क्षेत्रका जानकारहरू बताउँछन्।

पारसले १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन्। पारसले एकदिवसीयमा ३ सय १५ रन बनाउँदा ९ विकेट लिएका छन्। टी–ट्वान्टीमा उनले ७ सय ९९ रन जोड्दा ८ विकेट लिएका छन्। पारस दुवै फम्र्याटमा नेपालको लागि सर्वाधिक रन बनाउने पहिलो खेलाडीसमेत हुन्। पारसको कप्तानीमा २६ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले ११ खेल जितेको छ। त्यस्तै, ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले ३ खेल जितेको छ। पारसले २ फस्ट क्लास क्रिकेट खेल्दा ४४ लिस्ट ए खेल खेलेका छन्। त्यस्तै, उनले नेपालको यु–१५, यु–१७ र यु–१९ टिम रहेर खेलेका थिए।

पारसको कप्तानीमा नेपालले पाएको सफलता  

-सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाललाई पुर्याएको थियो ।
-नेपाली सिनियर टोलीले पहिलोपटक सन् २०१४ मा विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले त्यसयता विश्वकप क्रिकेट खेल्न सकेको छैन।
-नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। 
-पारसकै कप्तानीमा नेपालले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जितेको थियो। 
-पारसको कप्तानीमा नेपालले सन् २०१० को आइसीसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेको थियो। कप्तानका रूपमा नेपाली क्रिकेटमा उनको यो पहिलो उपाधि थियो। 
-पारसकै कप्तानीमा नेपालले सन् २०१२ को डिभिजन–४ को उपाधि जित्न सफल भयो। नेपालले सन् २०१३ र २०१४ को डिभिजन–३ प्रतियोगिताको उपाधि पनि जितेको थियो।
-पारसकै कप्तानीमा सन् २०१२ को एसीसी ट्रफीमा नेपाल यूएइसँगै संयुक्त विजेता बनेको थियो।

पारसको क्रिकेट यात्रा 

हजुरबुबासँग २००१ मा टियु मैदानमा भएको एसीसी यु–१५ क्रिकेट हेर्न पुगेका पारस सोही मैदानका उत्कृष्ट खेलाडी बने। सन् २००२ मा यु–१५ एसिया कपमा युएइविरुद्व खेल्दै पारसले नेपालको जुनियर टिममा डेब्यु गरेका थिए। डेब्यु खेलमा पारसले ४४ रन र १ विकेट लिएका थिए, जुन खेल नेपालले ९ विकेटले जितेको थियो । नेपालको पहिलो प्रथम श्रेणीको जित पनि त्यहीँ थियो।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा सिनियर टिमको उपकप्तानीको जिम्मेवारी प्राप्त गरे। त्यसको दुई वर्षपछि २००९ मा तत्कालीन कप्तान विनोद दासलाई विस्थापित गर्दै पारस राष्ट्रिय टिमको कप्तान चुनिए।

त्यसयता उनी नेपाली क्रिकेटका सर्वाधिक सफल र लोकप्रिय कप्तान बने। उनी कप्तान भएलगत्तै नेपाल सन् २०१० मा घरेलु मैदानमा भएको डिभिजन–५ को च्याम्पियन बन्यो।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ को उपाधि हात पार्दा पारस नायक रहे। सोही वर्ष भएको एसीसी ट्रफी इलाइटको उपाधि नेपाललाई जिताउन पारसले शानदार प्रर्दशन गरेका थिए। उनी ‘प्लेयर अफ द सिरिज’ घोषित भए।

एसीसी ट्रफी इलाइट ट्रफीमा कुवेतविरुद्ध शतक प्रहार गरेका पारस नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने छैटौं खेलाडी बने। उनले ७७ बलमा अविजित रहँदै १ सय ६ रन प्रहार गरेका थिए। पारसको कप्तानीमा नेपालले सन् २०१३ मा बर्मुडा र सन् २०१४ मा मलेसियामा भएको डिभिजन ३ को उपाधि उचाल्न सफल भएको थियो । सन् २०१३ को डिभिजन–३ जितेसँगै नेपालले सन् २०१४ एकदिवसीय विश्वकप छनोटमा सहभागी भयो।

पारसको कप्तानीमा नेपाल सन् २०१४ को विश्व टी–ट्वान्टीमा छनोट भयो। बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाउँदै नेपाल इतिहास रच्न सफल भयो।

हङकङविरुद्ध पहिलो बलमा पारसले विकेटसमेत हात पारेका थिए। उनी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलको पहिलो बलमा विकेट हात पार्ने विश्वका १० औं खेलाडी बने। 

सन् २०१५ को डिभिजन–२ मा कप्तान पारसले ६ इनिङमा १ सय ८५ रन बनाउँदै ६ विकेट हात पारेका थिए। उक्त प्रतियोगिताबाट नेपाल सन् २०१५ देखि २०१७ सम्म भएको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा छनोट भएको थियो। विश्व क्रिकेट लिग (सन् २००८ देखि २०१५) अन्तर्गत पारसले १ हजार १ सय ५७ रन बनाएका छन्, जसमा ७ अर्धशतक रहेका छन्।

सन् २०१८ मा पारसको नेतृत्वमा नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्याे । जिम्बाबेमा विश्वकप छनोट हुन नसके पनि नेपालले पारसको नेतृत्वमा ऐतिहासिक एकदिवसीय मान्यता प्राप्त गरेको थियो। उनले युएइविरुद्धको खेलमा १ सय १५ रन प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

पारस टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी तथा कप्तान हुन्। उनले सिंगापुरविरुद्ध ५२ बलमा अविजित १ सय ६ रनको इनिङ्स खेल्दै कीर्तिमान बनाएका थिए।

नेपालका लागि पारसको अन्तिम खेल थाइल्यान्डविरुद्ध रह्यो। एसीसी इस्टर्न रिजन टी–ट्वान्टीअन्तर्गत २०२० को मार्चमा ४ मा नेपालले थाइल्याण्डविरुद्ध खेलेको थियो। त्यही खेल नेपालका लागि पारसकोअन्तिम खेल रह्यो।

प्रकाशित: १९ साउन २०७८ १८:३१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी