टोकियो ओलम्पिकका प्रतिस्पर्धी यी सात महिला, जो वैज्ञानिक पनि हुन्

टोकियो ओलम्पिकका प्रतिस्पर्धी यी सात महिला, जो वैज्ञानिक पनि हुन्


विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिक २०२० सम्पन्न भइसकेको छ। ओलम्पिकमा २ सय ६ राष्ट्रका महिला र पुरुष गरी ११ हजारभन्दा बढी खेलाडीले सहभागिता जनाए, जसमा ३३ खेलका लागि ३ सय ३९ इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गरे।

१९ दिनसम्म चलेको प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा चर्चा कमाए। तर, सात महिला खेलाडीले भने खेलसँगै आफ्नो छुट्टै पहिचानका कारणले गर्दा निकै चर्चा कमाए किनभने ती ७ महिला वैज्ञानिक थिए। विज्ञानलाई वृत्ति बनाइरहेका उनीहरूले पदक र कीर्तिमान बनाउनका निम्ति प्रतिस्पर्धा गर्दा बेग्लै चुनौती सामना गरे। 

हामी तिनै सात महिलाको बारेमा चर्चा गर्दैछौंः 

१. ग्याबी थमस (अमेरिका)
अमेरिकाकी २४ वर्षीया ग्याब्रिएल थमस स्प्रिङ्टिङ एथ्लेटिक्समा निकै चर्चित खेलाडी हुन्। दुई सय मिटर दौडमा उनी अहिलेसम्मकै तेस्रो तीव्र धाविका पनि हुन्। ग्याबी नामले चिनिएको उनले टोकियोमा कास्य पदक जितिन्। तर, खेल अभ्यास र प्रतिस्पर्धाबीच उनले हार्भर्ड विश्वविद्यालयमा न्युरोबायोलोजी र ग्लोबल हेल्थ विषयमा स्नातक स्तरको अध्ययन पनि पुरा गरिन्। 

उनी अहिले अस्टिनस्थित यूनिभर्सिटी अफ टेक्सासमा महामारी विज्ञान तथा स्वास्थ्य व्यवस्थापनमा स्नातकोत्तर गरिरहेकी छन् । उनको मुख्य अनुसन्धान क्षेत्र भनेको अमेरिकाको स्वास्थ्य सेवाको पहुँचमा रंगभेद रहेको छ। 

२.नाडिन आपेट्ज (जर्मनी)
जर्मनीकी ३५ वर्षीया नाडिन आपेट्जले टोकियो ओलम्पिकको रिङमा प्रवेश गर्नेबित्तिकै इतिहास रचिन्। उनी महिला बक्सिङमा ओलिम्पिक्समा सहभागी हुने पहिलो जर्मनी प्रतिनिधि बनिन्। तर, आपेट्जका लागि ओलम्पिक्सको अनुभव एकदमै छोटो भयो। 

उनी भारतीय खेलाडी लभ्लिना बोगोहाइनसँग पराजित भइन्। युरोपेली प्रतियोगिता र वल्र्ड बक्सिङ च्याम्पियनसिपमा पदक जितेकी उनी अब अर्को करिअरमा केन्द्रित हुन चाहन्छिन् । 

उनले ब्रेमेन विश्वविद्यालयबाट न्युरोसाइन्समा स्नातकोत्तर गरेकी छन् । उनको अर्को लक्ष्य भनेको कलोन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु हो। उनी डिप ब्रेन स्टिम्युलेशनबारे अध्ययन गरिरहेकी छन्। भविष्यमा पार्किन्ससलगायतको उपचारमा उक्त विधि प्रयोग हुनसक्ने ठानिएको छ। उनले टोकियोबाट फर्केपछि आफू शतप्रतिशत पढाइमा केन्द्रित हुने बताएकी छिन्। 

३. शार्लट हिम (फ्रान्स)
फ्रान्सेली खेलाडी तथा डा. शार्लोट हिम बाह्र वर्षको हुँदा पेरिसस्थित आफ्नो घर नजिकै स्केटिङ गर्ने मानिस देखेर मोहित भएकी थिइन्। त्यो देखेर उनलाई एकदमै गजब लाग्थ्यो र उनी पनि त्यस्तै गर्न चाहन्थिन्। आइओसीको वेबसाइटमा राखिएको विवरणमा उनले लेखेकी थिइन्। 

हिम टोकियो ओलिम्पिकको प्रारम्भिक खेलबाटै बाहिरिन्। तर, उनी त्यहाँ न्युरोसाइन्सको विज्ञ बनेर पुगेकी थिइन्। उनी नवजात शिशुहरूले हातगोडा चलाउने सीप सिक्ने क्रममा आमाको स्वरले पार्ने असरबारे अनुसन्धान गर्छिन्। डा. हिम स्ट्रीट स्केटबोर्डिङको छनोट चरणबाटै बाहिरिएकी थिइन्। 

४. आन्ना कीजेनहोफर (अस्ट्रिया)
तीस वर्षीया अस्ट्रियाली साइक्लिस्ट आन्ना किजेनहोफरले टोकियो ओलम्पिकमा स्वर्ण पदक जितिन्। बिना प्रशिक्षक गरेको तालिमकै भरमा तथा व्यावसायिक प्रणालीको सहयोगबिनै उनले साइक्लिङमा स्वर्ण पदक जितेर उक्त खेलमा सबैलाई चकित पारिदिइन्। 

आन्नाले आफ्नी निकटतम प्रतिद्वन्द्वी तथा विद्यमान विश्व च्याम्पियन डच खेलाडी एनामिक भ्यान भ्लुटनभन्दा निकै अगाडि दूरी पार गरेकी थिइन्। भ्लुटनले एकछिन आफू नै प्रथम भएको ठानेर हर्षोल्लास भएकी थिइन्। 

१९ दिनसम्म चलेको प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा चर्चा कमाए। तर, सात महिला खेलाडीले भने खेलसँगै आफ्नो छुट्टै पहिचानका कारणले गर्दा निकै चर्चा कमाए किनभने ती ७ महिला वैज्ञानिक थिए।

सन् २०२१ की ओलम्पिक च्याम्पियन किजेनहोफरले टेक्निकल युनिभर्सिटी भिएना र केम्ब्रिज यूनिभर्सिटी यूकेमा गणित विषय अध्ययन गरेकी हुन्। अहिले उनी स्विट्जरल्यान्डको लोजानस्थित एउटा विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धान गर्छिन्। 

५.एन्ड्रिया मरेज (इजरायल)
क्यालिफोर्नियामा जन्मिएकी २९ वर्षीया एन्ड्रिया मरेज पौडी खेलाडी हुन्। उनले इजरायलमा आयोजना हुने पौडी प्रतियोगिता मक्कबियाड्स नामक कार्यक्रममा सहभागी हुन पाइन्। एन्ड्रियाले त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनी स्थायी रूपमै इजरायल बसाइँ सरिन्। अहिले उनी इजरायलको राष्ट्रिय टोलीबाट खेल्छिन् । 

टोकियो ओलम्पिकमा उनी पौडीका चारवटा प्रतिस्पर्धामा सहभागी भइन्। तीमध्ये पौडीको रिलेमा उनको समूहले राम्रो प्रदर्शन गरेको थियो। एन्ड्रियाले स्ट्यान्डफर्ड यूनिभर्सिटीमा जीवविज्ञान विषयमा अध्ययन गरेकी हुन्। 

६. हादिया होस्नी (इजिप्ट)
इजिप्टकी ३२ वर्षीया हादिया होस्नी खेलाडीसँगै प्राध्यापक र सांसद सदस्य पनि हुन्। होस्नीले महिला युगल ब्याड्मिन्टनमा टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्। 
 
आइओसीको आधिकारिक वेबसाइटमा टोकियो ओलम्पिक उनको लागि अन्तिम ओलिम्पिक हुनसक्ने ठूलो सम्भावना रहेको बताएकी छिन्। उनले सबै प्रतियोगिताहरूमा भ्रमण गर्नु र विश्वव्यापी तालिकामा आफूलाई राम्रो अवस्थामा राख्नको लागि निकै तनावपूर्ण रहेको समेत उल्लेख गरेकी छिन्। तर, होस्नीले आफ्नो प्राज्ञिक यात्रालाई भने जारी राख्नेछिन्। 

उनी ब्रिटिस युनिभर्सिटी अफ इजिप्टमा प्राध्यापक गर्छिन्। युनिभर्सिटी अफ बाथ यूकेबाट बायोमेडिसिनमा स्नातकोत्तर गरेकी उनले कायरो विश्वविद्यालयबाट औषधि तत्वशास्त्रमा विद्यावारिधि गरेकी हुन्। उनले सुजन कम गर्ने औषधि डेक्सामेथासनबारे अनुसन्धान गरेर अनुसन्धानपत्र पनि प्रकाशित गरेकी छन्। 

७. लुइस शानहान (आयरल्यान्ड)
२४ वर्षीया आइरिस धाविका शानहानको सन् २०२४ मा पेरिसमा हुने ओलिम्पिकमा छानिने स्पष्ट लक्ष्य थियो। तर, उनले आशा गरेभन्दा चाँडै प्रतिफल पाइन् र टोकियो ओलिम्पिकमा ८ सय मिटर दौडमा सहभागी हुने अवसर पाइन्। तर, उनले पहिलो छनोट चरण पनि पार गर्न सकिनन्। 

उनको सन् २०२४ मा खेल्ने योजना कायम छ। तर, अहिले उनी आफ्नो ध्यान विशेष रूपमा क्वान्टम फिजिक्समा दिइरहेकी छन्।  उनले आफ्नै देशको कोर्क विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्। अहिले उनी क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गर्दैछिन्। उनको मुख्य रुचिको क्षेत्र मेडिकल फिजिक्स हो। उनले क्यान्सर पत्ता लगाउन र उपचार गर्न सहयोग पुग्ने उपकरण विकास गरेकी छन्। 

Logo