यी हुन् प्रिमियर लिग उपाधि दाबेदार आठ क्लब (भिडियाेसहित)

यी हुन् प्रिमियर लिग उपाधि दाबेदार आठ क्लब (भिडियाेसहित)


विश्वमा फुटबल क्लबले खेल्ने सर्वाधिक लोकप्रिय इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण गत शुक्रबारदेखि सुरु भएको छ। पछिल्लो वर्ष कोभिडका कारण दर्शकबिनाको रंगशालामा सम्पन्न भएको लिग यस वर्ष भने दर्शकलाई प्रवेश अनुमति दिइएको छ। 

सन् १८८८ देखि १८९२ सम्म फुटबल लिगले चिनिएको यस प्रतियोगिता सन् १८९२ देखि १९९२ सम्म फुटबल लिग फस्ट डिभिजनको रुपमा परिचित भयो। सन् १९९२ देखि भने यस प्रतियोगिता इंग्लिस प्रिमियर लिगको नामले चर्चित छ। 

त्यसैले यसपालीको लिग उपाधि कस्ले उचाल्ला भन्ने धेरैको चासो छ। आज हामी उपाधि दाबेदार ८ बलियो क्लबहरुको बारेमा चर्चा गर्न गइरहेका छौं। 

१. म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर युनाइटेड यस लिगको सर्वाधिक च्याम्पियन क्लब हो । लिगमा म्यानचेस्टर युनाइटेड हालसम्म २० पटक विजेता बनिसकेको छ भने १७ पटक उपविजेता बनेको छ । प्रिमियर लिग नामकरण गरिएपछि भने युनाइटेडले १३ पटक उपाधि हात पारेको छ भने, ९ पटक उपविजेता बनिसकेको छ। 

म्यानचेस्टर युनाइटेडको सबैभन्दा महत्वपूर्ण तथ्य भनेको प्रशिक्षकमा ओले गन सोल्सार आएयता क्लबले अहिलेसम्म पनि एउटै उपाधि जित्न सकेको छैन्। यो समर्थकका लागि निकै निराशाजक पक्ष हो। तर, अर्को महत्वपूर्ण तथ्य भनेको युनाइटेड उपाधि जित्ने उपलब्धिबाट नजिक नजिक भने छ । युनाइटेड गत वर्ष पनि उपविजेता बन्न सफल भएको थियो। जाडोन सान्चो र राफेल भरानो आएपछि पक्कै पनि युनाइटेड अझ बलियो टिम बनेको छ। त्यसैले टिममा स्टार खेलाडीको कमी नभएको कारण यस टिमलाई उपाधि जित्ने बलियो टिमको रुपमा व्याख्या गरिएको छ। 

२. म्यानचेस्टर सिटी
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई फेरि यो पल्ट पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ । तर, यसका लागि कडा परिश्रम भने आवश्यक छ । हालसम्म सिटीले ७ पटक लिगको उपाधि चुमिसकेको छ तर प्रिमियर लिग नामाकरण गरेपछि भने ३ पटक मात्र उपाधि जितेको छ। 

सिटीले जित्न नसकेको भनेको युरोपेली च्याम्यिपन्स लिग मात्र हो। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि यो प्रतिष्ठाकै विषय भइसकेको छ। तर, सिटीलाई घरेलु लिग र कप जित्नबाट रोक्न गाह्रो छ। सिटीको लागि परीक्षा भनेको युरोपमा मात्र हो। सिटी टिम ज्याक ग्रेलीस, डी ब्रुईन, फिल फोडेन, रहिम स्ट्रलिङ्, फेरान टोरेस, रियाद महारेज जस्ता अब्बल तथा प्रतिभाशाली खेलाडीले भरिएको छ। त्यसैले यो टिम कुनै पनि पक्षमा कमजोर देखिएको छैन। 

३. लिभरपुल
म्यानचेस्टर युनाइटेडपछि यस लिगको सर्वाधिक ट्रफी जित्ने क्लब हो, लिभरपुल। लिभरपुल हालसम्म १९ पटक विजेता बन्दा १४ पटक उपविजेता बनेको छ। जसमध्ये लिभरपुलले जम्मा एक पटक मात्र प्रिमियर लिग नामाकरण भएपछि जितेको छ भने ३ पटक उपविजेता बनेको छ।

 तर पनि लिभरपुललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । किनभने, लिभरपुललाई यसपल्ट खेलाडीको चोटको चिन्ता छैन। त्यसैले सम्भवतः सन् २०१९/२०२० को जस्तो लिभरपुलको प्रर्दशन देख्न सक्छौं । लिभरपुलले त्यो प्रदर्शन दोहोर्याउन सकेमा फेरि एकपल्ट लिग उपाधि जित्न सक्नेमा कुनै दई मत छैन। किनकी सन् २०१९/२०२० को लिग उपाधि लिभरपुलले उचालेको थियो। 

म्यानचेस्टर सिटीलाई फेरि उपाधि जित्नबाट रोक्न सक्नेमा प्रशिक्षक योर्गन क्लोपको लिभरपुल पनि पर्छ। मोहम्मद सलाह, इब्राहिमा कोनाटी, रोबर्टो फर्मिनो जस्ता प्रतिभावान खेलाडीहरु छन् । गत सिजन भने घरेलु मैदानमा लिभरपुलले खराव खेलेको थियो ।

४. चेल्सी
चेल्सीले यस लिग फुटबल लिग फस्ट डिभिजनको रुपमा सञ्चालन हुदा एक पटक तथा प्रिमियर लिग नामले सञ्चालन हुन थालेपछि ५ पटक उपाधि उचालिसकेको छ ।  एक बलियो क्लबको रुपमा चिनिएको क्लब चेल्सीले ४ पटक उपविजेताको उपाधिसमेत हासिल गरिसकेको छ । 

पछिल्लो पटक सन् २०१६/२०१७ को लिग उपाधि उचालेको चेल्सीले चार वर्षमा उपाधिका लागि सबैभन्दा बलियो चुनौती यसै सिजन प्रस्तुत गर्दैछ । चेल्सी यसपल्ट लिग उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासीमध्ये एक हो । चेल्सी युरोपेली च्याम्पियन पनि हो।

गत सिजन चेल्सीको सुरुवात राम्रो रहेन् । त्यसैले यसपल्ट टिमको प्रशिक्षकमा आएका छन् थोमस टुचेल । उनी आएपछि चेल्सीको प्रदर्शन नै फेरिएको छ। उनकै नेतृत्वमा चेल्सीले प्रिमियर लिगमा अझ राम्रो गर्ने विश्लेषण गरिएको छ। यसपल्ट चेल्सीको आश स्टार खेलाडी रोमेलु लुकाकु, कान्ते, टिमो वर्नर, मेसन माउन्टको प्रदर्शनमा पनि भर पर्नेछ।

५. टोटनहम
हालसम्म २ पटक लिग उपाधि जितेको क्लब हो, टोटनहम । टोटनहम ५ पटक उपविजेता समेत बनिसकेको छ तर, पछिल्लो केही सिजन टोटनहमका लागि राम्रो रहेन । जोसे मउरिन्हो जस्तो प्रशिक्षकले पनि केही गर्न सकेन् । पछिल्लो समय सन् २०१६/२०१७ को लिगमा उपविजेता बने यता टोटनहमले कुनै सफलता हात पार्न सकेको छैन। तर, अहिले नुनु सान्टो नयाँ प्रशिक्षकको रूपमा टोटनहममा आएका छन् । त्यसैले धेरैको आशा यस क्लबमा पनि रहेको छ। 

यी सबै कुराको बावजुत पनि टोटनहमले यो सिजनको सुरुवाती राम्रो गरेको छ। त्यसैले नयाँ आशाका साथ यो सिजन टोटनहमलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। 

६.एस्टन भिल्ला
लिगमा हालसम्म ७ पटक विजेता तथा १० पटक उपविजेता बनिसकेको क्लब हो, एस्टन भिल्ला । तर यस पल्ट भने, एस्टन भिल्लाले आफ्ना प्रमुख खेलाडी रहेका ज्याक ग्रेलिसलाई गुमाएको छ । ग्रेलिसको अनुपस्थितिमा भिल्लाले कस्तो प्रदर्शन गर्ला भन्ने हेर्न लायक हुनेछ । ग्रेलिसले म्यानचेस्टर सिटीलाई आफ्नो गन्तब्य बनाइसकेका छन् । तर, भिल्लाले ग्रेलिसको ठाउँमा केही नयाँ खेलाडी भित्राएको छ। जसमा प्रमुख नाम रहेको छ, ड्यानी इंग्स । त्यसैले भिल्लाले यसपल्ट युरोपा लिगको लक्ष्य राख्न सक्छ। तर भिल्लाले कमजोर सुरुवात लियो भने त्यो अन्त्यसम्म पनि क्लबका लागि संघर्ष गर्नु पर्ने बाध्यता बन्न सक्छ।

७. आर्सनल
आर्सनलको यसपल्ट एउटै मात्र उद्देश्य हो, अंक तालिकाको शीर्ष चारमा प्रवेश पाउने छ। आर्सनलले च्याम्पियन्स लिगमा नखेलेको पनि पाँच सिजन भइसकेको छ। तर, अहिले आर्सनलसँग त्यस्तो टिम छ, जसले शीर्ष चारका लागि चुनौती पेस गर्न सक्छ। तर यो पक्कै पनि सजिलो काम हुने छैन्। किनभने आर्सनलले सन् २००३/२००४ मा पछिल्लो पटक लिग उपाधि जिते यता आर्सनलले आफ्नो प्रर्दशन देखाउन सकेको छैन। 

१३ पटक लिग विजेता तथा ९ पटक उपविजेता बनिसकेको आर्सनलले पछिल्लो समय भने फितलो खेल पस्कदै आएको छ। आर्सनलको यसपल्टको प्रदर्शन प्रशिक्षक मिखेल आर्टेटामा पनि भर पर्नेछ। 

८. एभर्टन 
सन् १८७८ मा स्थापना भएको क्लब एभर्टनले हालसम्म लिगको उपाधि ९ पटक जितिसकेको छ । यस्तै ७ पटक उपविजेता समेत बनेको छ । एभर्टनले नयाँ सिजनमा सुखद सुरुवातसमेत गरिसकेको छ । एभर्टनले युरोपमा खेल्ने अवसर मिलाउने सम्भावनासमेत मान्न सकिन्छ । एभर्टनका लागि लिग भन्दा पनि कप नै बढी हुन सक्नेछ। 

एभर्टनको खेललाई धेरैले विश्वास गर्छन् तर अन्त्यमा शून्य उपलब्धी । प्रशिक्षक राफेल बेटिनेजलाई यसपल्ट यही सत्यलाई तोड्ने सबैभन्दा ठूलो चुनौती हुनेछ । टिममा राम्रा खेलाडीको कुनै कमी छैन । त्यसैले उपाधि दाबेदार मानिएको छ।

 

Logo