१२ वर्षपछि म्यानचेस्टरमै फर्किएका रोनाल्डोको फुटबल यात्रा

१२ वर्षपछि म्यानचेस्टरमै फर्किएका रोनाल्डोको फुटबल यात्रा


३६ वर्षीय पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि पुनः इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्। युभेन्टस क्लबबाट खेल्दै आएका रोनाल्डो ३ करोड १० लाख पाउन्डमा दुई वर्षका लागि युनाइटेडसँग अनुबन्धित भएका हुन्। 

सन् २००३ मा स्पोर्टिङ लिस्बनबाट युनाइटेड भित्रिएका रोनाल्डोले क्लबसँग सन् २००९ सम्म बस्दै २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए। रोनाल्डोले युनाइटेडमा ६ सिजन बिताएका थिए। उक्त समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जिताएका थिए।

त्यसपछि सन् २००९ मा रोनाल्डो स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा अनुबन्धन भएका थिए। उनी तत्कालीन समयमा कीर्तिमानी मूल्य ८० मिलियन पाउन्डमा रियल मड्रिड गएका थिए। रियलमा ९ सिजन बिताएका रोनाल्डोले ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। उनले रियलबाट लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेका थिए। 

रियलमा अनुबन्धन भएको ९ वर्षपछि रोनाल्डो सन् २०१८ मा युभेन्ट्स क्लबमा अनुबन्धित भएका थिए। तर, युभेन्टससँग एक वर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्। रोनाल्डोले युभेन्टस छाड्ने चाहना व्यक्त गरेपछि युनाइटेडको प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीले पनि रोनाल्डोलाई भित्र्याउने प्रयास गरेको थियो। तर, युनाइटेडले नै इच्छा देखाएपछि सिटी सम्झौताबाट पछि हटेको थियो।

युनाइटेडले नै रोनाल्डोलाई युवा अवस्थामा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट इङ्ल्यान्ड ल्याएको थियो। पाँच पटक ‘वालेन डी ओर’ विजेता खेलाडी रोनाल्डोले करिअरमा ३० मुख्य उपाधि जितेका छन्। उनले पाँच युइएफए च्याम्पियन्स लिगका साथै चार फिफा विश्वकप र सात लिग जितेका छन्। उनले देशका लागि युरोकपसमेत उचालेका छन्।

रोनाल्डोको पुनः युनाइटेड यात्रा कसरी सम्भव भयो? 

सन् २००३ देखि २००७ सम्म क्रिस्टियानो रोनाल्डो र युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायर साथी खेलाडी थिए। उनीहरूले म्यानचेस्टर युनाइटेडका लागि सँगसँगै खेले। सोल्सायर अहिले म्यानचेस्टरका प्रशिक्षक छन्। त्यसैले पनि रोनाल्डोले यही प्रसिद्ध क्लबमा स्वप्निल पुर्नआगमन गरेका छन्। 

क्लबको घरेलु मैदान हो, ओल्ड ट्रायफोर्ड। यसलाई ‘थिएटर अफ ड्रिम्स’ पनि भन्ने गरिन्छ। ओल्ड ट्रायफोर्डमा रोनाल्डोले कुनै समय केही जादुमय प्रदर्शन गरेका थिए। रोनाल्डोले अब फेरि एकपल्ट त्यस्तै खेल प्रदर्शन गर्ने मौका पाएका छन्। 

त्यसैले, युनाइटेडमा रोनाल्डोको पुर्नआगमनले सबैभन्दा खुसी कोही छन् भने ती पक्कै पनि सोल्सायर नै होलान्। सोल्सायरले भनेका छन्–‘मैले सोचेको थिइनँ रोनाल्डो युभेन्ट्स छाडेर आउनेछन् भन्ने। तर, हाम्रो निकै राम्रो संवाद हुन्छ। रोनाल्डो यस क्लबका लिजेन्ड हुन्। युनाइटेडका लिजेन्डलाई क्लबमा स्वागत छ।’ 

तर, बिडम्वना अहिलेसम्म सोल्सायरले युनाइटेडका लागि केही पनि जित्न सकेका छैनन्। त्यसैले, उनीमाथि टिममा रोनाल्डोजस्ता खेलाडी आएपछि उपाधि जिताएर देखाउने चुनौती निकै बढेको छ। 

रोनाल्डो आफैं पनि उपाधि भनेपछि लोभी छन्। उनको उद्देश्य पनि  युनाइटेडका लागि उपाधि जित्ने नै हुनेछ। त्यसैले रोनाल्डो र सोल्सायरबीच बलियो साझेदारी हुन आवश्यक छ। 

रोनाल्डोले युनाइटेडमा पाउलान् त जर्सी नम्बर ७ ?

रोनाल्डो एक दशकपछि पुनः युनाइटेड फर्कन लागेका हुन्। आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्रान्ड नै बनाइसकेका छन्। रोनाल्डोले सीआर ७ को ब्रान्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा समेत लगानी गरेका छन्। 

युनाइटेडले नै रोनाल्डोलाई युवा अवस्थामा पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट इङ्ल्यान्ड ल्याएको थियो। पाँच पटक ‘वालेन डी ओर’ विजेता खेलाडी रोनाल्डोले करिअरमा ३० मुख्य उपाधि जितेका छन्।

रोनाल्डोले यसअघि युनाइटेडबाटै जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए। उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरे पनि कसैले राम्रो छाप बसाउन सकेका छैनन्। रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले जर्सी नम्बर ७ प्रयोग गरेका छन्।

हाल काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाइरहेका छन्। काभानीले रोनाल्डोका लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ। तर, त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ। लिगको नियम अनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा स्वीकृति लिनुपर्ने नियम छ।

रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ र जर्सी नम्बर ९ प्रयोग गरेका थिए। युनाइटेडमा अहिले ९ नम्बर एन्थोनी मार्सियल र २८ नम्बर फाकुन्दो पेलिस्त्रीले प्रयोग गरिरहेका छन्। रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर जर्सी पनि प्रयोग गरेका छन्। युनाइटेडमा अहिले उपलब्ध जर्सीहरु १२, १५, २४, ३०, ३१, ३३ र ३५ रहेका छन्।

रोनाल्डो अनुबन्धन भएसँगै क्लबको मार्केट भ्यालुमा अपत्यारिलो छलाङ

पूर्वखेलाडी रोनाल्डो म्यानचेस्टर युनाइटेड जाने पक्का भएसँगै उक्त क्लबको मार्केट भ्यालुले अपत्यारिलो छलाङ मारेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रोनाल्डो अनुबन्धनको घोषणा गरेको एक घन्टाभित्रै इङ्ल्यान्डको स्टक मार्केटमा म्यानचेस्टर युनाइटेडको सेयर मूल्य २ सय १२ मिलियन पाउन्ड पुगेको जनाइएको छ। युरोपको स्टक माकर्टेमा कुनै पनि फुटबल खेलाडीको स्थान्तरणपछि छोटो समयमा यति धेरै सेयरको मूल्य बढेको यो नै कीर्तिमानी रहेकोसमेत उल्लेख गरिएको छ।

शुक्रबार इङ्ल्यान्डको स्टक मार्केट खुला हुँदा म्यानचेस्टर युनाइटेडको प्रति सेयर मूल्य १२.६२ पाउन्ड थियो। त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किने कुनै चर्चा भएको थिएन। तर, जब रोनाल्डो युनाइटेड फर्किने पक्का भएको खबर बाहिरियो त्यसपछि स्टक मार्केटमा क्लबको सेयर मूल्य सुरुआती एक घन्टाको बीचमा १२.६२ पाउन्डबाट १३.८७ पाउन्ड पुगेको बताइएको छ।

यो आँकडा कूल सेयर संख्याका आधारमा क्लबको मार्केट भ्यालुको कूल २ सय १२ मिलियन पाउन्डले वृद्धि भएको हो। वृद्धि हुने क्रम अझै बढ्ने फुटबल विश्लेषकहरूले दाबी गरेका छन्।

Skip This
Logo