१६ वर्षको उमेरमै महिला राष्ट्रिय फुटबल टिममा ‘डेब्यु’ गरेकी प्रीति राई

१६ वर्षको उमेरमै महिला राष्ट्रिय फुटबल टिममा ‘डेब्यु’ गरेकी प्रीति राई


एएफसी महिला एसियन कप छनोट २०२२ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा सात नयाँ खेलाडीलाई स्थान दिएका छन्। टिममा प्रीति राईसहित रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सृजना सिंह र निशा थोकर रहेका छन्। 

मिडफिल्डर प्रीति राईले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन्। २०६१ साल मंसिर ५ गते काठमाडौंको कपनमा जन्मिएकी प्रीति नेपाली राष्ट्रिय महिला फुटबल टिमकी उदीयमान तथा कान्छी खेलाडी हुन्। बुवा चन्द्रप्रसाद राई र आमा ज्ञानमाया राईको पहिलो सन्तानका रूपमा जन्मिएकी हुन्, उनी। सोलुखुम्बु स्थायी घर भएको राईको परिवार कामको सिलसिलामा राजधानी आएको हो।  

उनले ६–७ वर्षको उमेरबाटै फुटबल खेल्न सुरु गरेकी हुन्। ‘बच्चैबाट खेलकुदमा रुचि थियो, घरमै भाइहरुसँगै खेल्थेँ। स्कुलमा पनि अतिरिक्त क्रियाकलापमा सक्रिय थिएँ। खेल्न चाहिँ सबै खेल खेल्थे। तर, फुटबलमा अझै बढी रुचि थियो,’ प्रीतिले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्। 

शारदा एकेडेमीबाट एसइइसम्मको अध्ययन पूरा गरेकी उनी कक्षा ७ पढ्दै गर्दा नेपाल युथ प्रोग्राम क्लबमा सामेल भइन्। त्यतिबेला उनी ११ वर्षकी मात्र थिइन्। त्यसपछि उनले सोही क्लबबाट फुटबल तालिमलाई निरन्तरता दिन थालिन्। त्यही क्लबबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछिन्। ‘मैले स्कुल र घरमा खेलेको फुटबलभन्दा क्लबमा खेलेको फुटबलमा धेरै फरक पाएँ। दुई वर्षको अन्तरालमा मैले क्लबबाट फुटबलबारे धेरै कुरा जान्न पाएँ, सिक्न पाएँ,’ उनले भनिन्। 

त्यसपछि प्रीतिलाई फुटबलप्रति अझै बढी मोह जाग्न थाल्यो। सोही प्रशिक्षणको दौरानमा प्रीतिले २०७३ सालमा कोकाकोला कप खेल्ने अवसर पाइन्। उनले उक्त कप आइडियल सेकेन्डरी स्कुलबाट खेलेकी थिइन्। त्यसको ठिक एक वर्षपछि पुनः उनले सिन्धुपाल्चोकबाट कोकाकोला कप खेलिन्। त्यसपछि उनले काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै उपमेयर कप खेलिन्। त्यसपछि उनले विभिन्न जिल्ला स्तरीय खेलहरू पनि खेल्ने मौका पाइन्। 

यसरी खेल यात्रा सुरु गरेकी प्रीति १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम प्रशिक्षणमा रहेकी थिइन्। प्रीतिले भुटानमा भएको साफ यु–१५ खेल्न पुग्दा राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनन्।  त्यसपछि भने प्रीति उमेर समूहका खेलमा नियमित परिन्। उनी उमेर समूह टिमको एक हिस्साजस्तै बनिन्। उनले यू–१५, यू १६ र यू–१९ उमेर समूहबाट खेलिन्। उनी यू–१५ समूहको कप्तान समेत हुन्। 

आफू उमेर समूहमा भएको छनोटबारे उनी यसरी सुनाउँछिन्, ‘कोकाकोला कपमा मैले बेस्ट फिल्डफिल्ड अवार्ड पाएकी थिएँ। त्यही बेला खेलाडी छनोट क्रार्यक्रम पनि चलिरहेको थियो, त्यहीबाट म एन्फाको नजरमा परेछु र, उमेर समूहका खेलहरु खेल्न पाएँ।’ 

यति मात्र होइन, प्रीति एक वर्षअघि विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) मा आबद्ध भइसकेकी छिन्। एपीएफले धेरै अगाडि नै बोलाएको भए पनि आफूले त्यतिबेला एसइइ नदिएको कारण  सामेल हुन नसकेको उनको भनाइ छ। 

‘बच्चैबाट खेलकुदमा रुचि थियो, घरमै भाइहरुसँगै खेल्थेँ। स्कुलमा पनि अतिरिक्त क्रियाकलापमा सक्रिय थिएँ। खेल्न चाहिँ सबै खेल खेल्थे। तर, फुटबलमा अझै बढी रुचि थियो,’ प्रीतिले आफ्नो बाल्यकाल सम्झिँदै भनिन्। 

‘तर, एसइइ सकेको भोलिपल्टै एपीएफमा आबद्ध हुन गएँ,’ उनले हाँस्दै भनिन्। गत वर्ष सम्पन्न भएको महिला राष्ट्रिय लिगमा प्रीतिले एपीएफबाट डेब्यु गरेकी थिइन्। उक्त लिगमा उनले दुई गोलसमेत गरेकी थिइन् भने एक पटक म्यान अफ द म्याजसमेत बनेकी थिइन्। डेब्यु खेलमै म्यान अफ द म्याच बन्नुको रहस्य उनी यसरी सुनाउँछिन्, ‘एपीएफ क्लबमा सबै राष्ट्रिय टिमका अनुभवी दिदीहरु हुनुहुन्छ, उहाँहरुकै मार्गदर्शनले गर्दा मलाई खेल्न सजिलो भयो र, मैले पाएको मौकालाई सकेसम्म सदुपयोग गर्न सकें।’

उमेर समूहको प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रीतिले पहिलो पटक राष्ट्रिय टोलीमा सामेल हुँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन्। ‘बन्द प्रशिक्षणमा पहिले पनि छनोट भएकी थिएँ। टिममा पहिलोपटक पर्दा खुसी लागेको छ,’ उनले भनिन्, ‘मिहिनेत गरेको फल अहिले आउँदैछ। ट्रेनिङ राम्रो भइरहेको छ।’

राष्ट्रिय टिमको प्रशिक्षणमा कलिङमा परेकी उनी ४५ र २८ हुँदै अन्तिम २३ मा अटाउन सफल भएकी छिन्। राष्ट्रिय टिमको प्रशिक्षण हुँदा सुरु–सुरुमा गाह्रो भएको उनको भनाइ छ। तर, अहिले प्रशिक्षक तथा समकालीन खेलाडीको माया र सहयोगले एउटा परिवारमा बसेजस्तो अनुभव भएको उनी बताउँछिन्। ‘विदेशी प्रशिक्षकसँग घुलमिल हुन सुरुमा गाह्रो भयो। तर, अहिले अभ्यस्त भएको छु, टिममा म नयाँ खेलाडी हो भन्ने अनुभव भएको छैन,’ उनले थपिन्, ‘सिनियर दिदीहरुले सपोर्ट गर्नुभएको छ, दिदीहरुसँग खेल्न पाउँदा खुसी छु।’

 आफूले मौका पाएको अवस्थामा उत्कृष्ट खेल्ने उनको भनाइ छ। क्लब र राष्ट्रिय टोलीमा अटाउनु फरक भएको भन्दै प्रीतिले छनोट प्रतियोगितामा शतप्रतिशत खेल्ने बताइन्। आफ्नो खेललाई  माथिल्लो स्तरमा लैजान आफूले प्रयास गरिरहेको उनको भनाइ छ । ‘क्लब र राष्ट्रिय टिमबाट खेल्नु फरक हुन्छ। क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्छ। तर, राष्ट्रिय टिममा खेल्दा मानसिक दबाब हुन्छ। राष्ट्रिय टिममा हुँदा धेरै सिकिन्छ, जुन लेभलमा खेल्दै आएका हुन्छौं। त्यो राष्ट्रिय टिममा हुँदैन। आफ्नो स्तर माथिल्लो बनाएर खेल्नुपर्छ,’ प्रीति भन्छिन्। 

आफू राष्ट्रिय टिमको पहिलो रोजाइमा पर्ने प्रीतिको विश्वास छ। प्रीतिले मैदान उत्रने मौका पाएमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्नेसमेत बताइन्। 

प्रीतिको पारिवारिक पृष्ठभूमिमा कोही पनि त्यस्तो खेलाडी छैनन्। तर, उनलाई भने आफ्नो परिवार र स्कुलका शिक्षकले पढाइबाहेक अतिरिक्त क्रियाकलापमा साथ, सहयोग र उत्प्रेरित गर्दै आएका छन्। ‘मलाई  अभिभावकको साथ त थियो नै। तर, मलाई स्कुलका सरहरूदेखि प्रिन्सिपल सरले समेत धेरै ठाउँमा प्रशिक्षणका लागि पुर्याउनु भएको छ,’ उनी भन्छिन्।

कक्षा १२ मा अध्ययनरत प्रीतिले खेल जीवनसँगै आफ्नो अध्ययनलाई पनि सँगसँगै लैजाने बताइन्।

Logo