नेपाल-भारत मैत्रीपूर्ण फुटबल आजः दुई टिमको खेल, यस्तो छ इतिहास

नेपाल-भारत मैत्रीपूर्ण फुटबल आजः दुई टिमको खेल, यस्तो छ इतिहास


भदौ १७ (आज) र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। सोही खेलका लागि ३७ सदस्यीय भारतीय फुटबल टिम सोमबार नेपाल आइपुगिसकेको छ। नेपाल र भारत सबैभन्दा नजिकका छिमेकी हुन्, तर पहिलो पटक भारतीय टिम मैत्रीपूर्ण खेल खेल्न काठमाडौं आएको हो।

नेपाल र भारतबीच सन् १९८५ देखि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा हुन थालेको हो । सन् १९८५ डिसेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा नेपाल र भारतले पहिलो मान्यताप्राप्त औपचारिक खेल खेलेको थियो । उक्त खेल दोस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत भएको थियो । पहिलो खेलमै नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुन पुगेको थियो। 

हालसम्म नेपाल र भारतबीच १९ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले २ जीत, ४ बराबरी र १३ हार ब्यहोरेको छ । १९ खेलमा नेपालले भारतविरुद्ध मात्र ७ गोल गरेको छ भने ३३ गोल खाएको छ। 

नेपाल र भारतको दोस्रो भेट सन् १९८७ डिसेम्बरमा तेस्रो दक्षिण एसियाली खेलकुदको लागि भएको थियो । कोलकाताको साल्टलेक स्टेडियममा भएको त्यस फाइनल खेलमा पनि नेपालले हार ब्यहोर्दै रजत पदकमा चित्त बुझाएको थियो । उक्त खेलमा भारत १–० ले विजयी हुँदै स्वर्ण पदक चुम्न सफल भएको थियो । यस्तै तेस्रो खेलमा पनि नेपालले पराजय नै भोगेको थियो । इस्लामावादमा सन् १९८९ अक्टोबरमा आयोजना भएको दक्षिण एसियाली फुटबलमा तेस्रो स्थानका लागि यी दुई टिमको भेट भएको थियो । उक्त खेलमा भारत २–१ ले विजयी भएको थियो ।  तर, मणि शाहले त्यस खेलमा भारतविरुद्ध नेपालका लागि पहिलो गोल गर्न सफल भएका थिए। 

त्यसको ४ वर्षपछि नेपाल र भारतको चौथो भेट पाकिस्तानको लाहोरमा भयो। सन् १९९३ मा पाकिस्तानले पहिलो संस्करणको सार्क गोल्डकप आयोजना गरेको थियो । राउन्ड रोबिनको आधारमा चलेको उक्त प्रतियोगितामा पनि नेपाल भारतसँग १–० ले पराजित भयो। 

चार पटक लगातार हार ब्यहोरेको नेपालले अन्ततः सन् १९९३ मा भारतविरुद्ध ऐतिहासिक जीत निकाल्यो । बंगलादेशको राजधानी ढाकामा दोस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो। जुन नेपाली फुटबलले सधैं सम्झिने खेल हो। निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो । त्यस खेलमा नेपालका लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। विदेशी भूमिमा नेपाली राष्ट्रिय टिमले चुमेको यो पहिलो सफलता पनि हो। 

चार पटक लगातार हार ब्यहोरेको नेपालले अन्ततः सन् १९९३ मा भारतविरुद्ध ऐतिहासिक जीत निकाल्यो । बंगलादेशको राजधानी ढाकामा दोस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुदमा नेपालले भारतलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पार्यो।

सन् १९९५ मा नेपाल र भारतबीचको छैटौं भेट फेरि दक्षिण एसियाली खेलकुदले नै जुराएको थियो । उक्त खेलमा भारतले नेपालसँग बदलाको भावना बोकेको थियो। त्यसैले त्यस खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्यो।

त्यसको ३ वर्षपछि १९९८ मा थाइल्यान्डले बैंकक एसियाली खेलकुदको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्यो । जसमा पनि नेपाल र भारतको भेट भयो । तर त्यस खेलमा पनि नेपाल भारतसँग १–० गोलले पराजित हुन पुग्यो। 

नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद आयोजना गरेको थियो। यही प्रतियोगितामा नेपाल र भारतको सातौं भेट नेपालको आफ्नै खेल मैदान दशरथ रंगशालामा भयो । तर, उक्त खेलमा नेपाल भारतसँग आफ्नै भूमिमा नराम्रोसँग पराजित भएको थियो । नेपालले भारतसँग ४–० गोलले पराजय भोगेको थियो । 

त्यसपछि यी दुई टिमबीच ६ वर्षको अन्तरमा आठौं खेल भएको थियो। सन् २००५ मा पाकिस्तानको कराँचीले आयोजना गरेको साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल नै भारतविरुद्ध थियो। त्यसमा भारत २–१ ले विजयी भयो। नेपालका लागि वसन्त थापाले गोल गरेका थिए। 

त्यसको एकवर्ष लगत्तै पहिलो संस्करणको एएफसी च्यालेञ्जकप आयोजना भयो। त्यस खेलमा नेपालले भारतसँग आफ्नै भूमिमा हारेको बदला लिनु थियो । र त्यस्तै पनि भयो । उक्त खेलमा नेपालले भारतमाथि ३–० को शानदार जीत निकाल्यो। नेपालका लागि वसन्त थापा र प्रदीप महर्जनले गोल गरे। 

पुनः यी दुई टोलीबीच दुई वर्षपछि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमै भेट भयो। तर, उक्त खेलमा भारतले ४–० गोलले सजिलै जित्यो। 
साफ च्याम्पियनसिपमा नेपालको यो डेब्यू खेल थियो। 

नेपालले फेरि २००९ मा भएको साफ च्याम्पियनसिपमा भारतलाई प्रतिद्वन्द्वी पाएको थियो । बंगलादेशमा भएको यस संस्करणमा पनि भारत १–० ले विजयी रह्यो। त्यसपछि नेपालले सन् २०१२ मा भारतद्वारा मैत्रीपूर्ण खेल खेल्ने आमन्त्रण पाएको थियो । यसैक्रममा भारतसँग नेपालको बाह्रौं भेट भयो। त्यस खेल भने नेपालले भारतको आफ्नै भूमिमा गोलरहित बराबरीमा खेल्यो ।  

नेपालले सन् २०१३ मा दोस्रो पल्ट साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । जसमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकाल्न सफल भएको थियो । नेपालले भारतलाई २–१ ले हरायो । जसमा अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए । सोही वर्ष पश्चिम बंगालको सहरले भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो र पुनः दुई टिमबीचको भेट भयो उक्त खेलमा पनि नेपाल भारतसँग २–० गोलले पराजित भएको थियो । 

त्यसपछि सन् २०१५ मा यी दुई टिमको भेट फिफा विश्वकप छनोटको दौरानमा दुई पटक भयो । एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यी दुई देशबीच दुई लेगमा प्ले अफ भएको थियो । जसमध्ये भारतमा भएको पहिलो खेलमा नेपाल भारतसँग २–० गोल अन्तरले पराजित हुन पुगेको थियो । यस्तै काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो। 

सोही वर्ष डिसेम्बरमा भारतले ११ औं साफ च्याम्पियनसिप आयोजना गर्याे। जहाँ नेपालले लज्जास्पद हार ब्यहोर्यो । नेपाल भारतसँग ४–१ ले पराजित भएको थियो । जसमा नेपालकातर्फबाट बिमल घर्तीमगरले गोल गरेका थिए। 

त्यसपछि नेपाल र भारतको अन्तिम भेट २०१७ मा भएको मैत्रीपूर्ण खेलमा भयो । तर, अन्तिम खेलमा पनि नेपालले भारतसँग हार ब्यहोरेको थियो । नेपाल भारतसँग २–० गोल अन्तरले पराजित भएको थियो।

Skip This
Logo