११ असोज २०७८ सोमबार

ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ। 

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले ३१ ओभर १ बलमा पाँच विकेट गुमाउँदै १९८ रन बनाएको हो। 

ओमानको जीतमा जितेन्दर सिंहले शतक प्रहार गरे। विस्फाेटक ब्याटिङ गरेका सिंहले ६२ बलमा ६ छक्का र १२ चौकाको मद्दतमा १०७ रन बनाए। ओमानको जीतमा मोहम्मद नदीमले ३८ रन बनाउँदा सुरजकुमारले २० तथा आयन खानले १८ रन बनाए। 

नेपालको तर्फबाट कुशल मल्ल र करण केसीले सर्वाधिक २–२ विकेट लिए। १० ओभर पूरा बलिङ गरेका कुशलले ३७ रन खर्चिए। यस्तै, पाँच ओभर बलिङ गरेका करणले ५२ रन खर्चिएका थिए। उनी सर्वाधिक महँगा बलर बने। चार ओभर बलिङ गरेका सोमपाल कामी पनि ओमानविरुद्ध महँगो साबित भए। एक मेडन राखेका सोमपालले ३५ रन खर्चिएका थिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १९६ रन बनाएको थियो। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाएका थिए। एक सय १२ बलमा एक छक्का र सात चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन्। यस्तै, करण केसी र कप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए। सन्दीप लामिछानेले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका खानले एक मेडनसहित ४७ रन खर्चिएका हुन्। यस्तै, नेष्टोर धम्बाले दुई विकेट लिए। पाँच ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। मोहम्मद नदीम र जिशान माक्सुदले समान एक विकेट लिए। 

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। नेपालको ६ खेलबाट ६ अंक छ भने ओमानले ११ खेलबाट १८ अंक बनाएको छ।न्युज कारखाना

खेलकुद

प्रकाशित: ३० भदौ २०७८ ०६:०७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी