एनभीए क्लब भलिबलः आर्मीको विजयी सुरुवात

एनभीए क्लब भलिबलः आर्मीको विजयी सुरुवात


छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो।

राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित गर्यो। यस जीतसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ। कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। 

पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ। चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३ः३० बजे प्रतिस्पर्धा हुनेछ।

महिलातर्फको खेल मंगलबार सुरु हुनेछ। महिलाको पहिलो खेलमा एपीएफ क्लब र  ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ।

Logo