न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित


अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपअघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर काइल जेमिसनलाई चौथो र पाँचौं बलमा जोश इंगलिसले लगातार चौका प्रहार गर्दै अष्ट्रेलिया जित पक्का गराए । जेमिसनको अन्तिम ओभरको पहिलो बलम मिचेल स्टार्कले चौका प्रहार गर्दा दोस्रो बलमा एक रन बटुलेका थिए । तेस्रो बलमा एश्टन अगर कट एण्ड बोल्ड आउट भए ।

आरोन फिन्च र मिचेल मार्श २४–२४ रनमा आउट भए । ओपनर डेविड वार्नर पहिलो ओभरको पहिलो बलमै गोल्डेन डक आउट भएका थिए । टिम साउथीको बलमा मार्टिन गुप्टिलबाट वार्नर क्याच आउट हुन पुगे । मार्कस स्टोइनिसले २३ बलमा १ चौका र १ छक्का सहित २८ रनको योगदान दिए । एस्टन अगर १८ बलमा २ चौका र १ छक्का सहित २३ रनमा क्याच आउट भए । मिचेल स्टार्क १३ र जोश इंगलिश ८ रनमा अविजित रहे ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ट्रेन्ट बोल्टले २, टिम साउथी र काइल जेमिसनले १–१ विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५८ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३० बलमा ५ चौका सहित सर्वाधिक ३७ रनको योगदान दिए ।

दुबै टोलीले टि२० विश्वकपको तयारीको लागि वार्मअप खेल खेलेका हुन् । दोस्रो वार्मअप खेलमा बुधबार न्युजिल्यान्डले इंग्ल्यान्डसँग तथा अष्ट्रेलियाले भारतसँग खेल्नेछन् ।

 

Logo