बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित

बंगलादेशको सुपर-१२ सम्भावना जीवित, ओमान २६ रनले पराजित


बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप २०२१ मा घरेलु टोली ओमानलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। बंगलादेशले दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रनमा समेटियो।

ओमानका ओपनर जतिन्दर सिंहले सर्वाधिक ४० रनको योगदान दिए। कश्याप प्रजापतीले  २१ रन बनाए। बंगलादेशका तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ४ विकेट लिए। स्पिनर सकिब अल हसनले ३ विकेट लिए।

यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बंगलादेश निर्धारित २० ओभरमा १५३ रनमा अल आउट भएको थियो। बंगलादेशका ओपनर मोहम्मद नईमले सर्वाधिक ६४ रनको योगदान दिए । सकिब अल हसन ४२ रनमा रन आउट भए।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ३ विकेट लिए। अर्का तीव्र गतिका बलर फैज बुटले ३ विकेट लिए। समूह बी मा रहेको बंगलादेशले आफ्नो दोस्रो खेलमा ओमानलाई पराजित गर्दै सुपर १२ को सम्भावना जीवित राखेको छ।

पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ। ओमान २ खेलमा १ मा जीत र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ। बंगलादेश २ खेलमा १ मा जीत र १ मा हारसहित २ अंकका साथ नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ। पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन्। समान १ खेल खेल्दा श्रीलंका २ अंकका साथ शीर्षस्थानमा छ। आयरल्यान्डको २ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स र नामिबिया अंकविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन्। पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन्। सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन्।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन्। शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन्। विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ।न्युज कारखाना

Logo