एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जीत, मिलान पराजित

एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जीत, मिलान पराजित


इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’को नाटकीय खेलमा १० खेलाडीमा सीमित स्पेनिस एट्लेटिको मड्रिडमाथि ३-२ को जीत हासिल गरेको छ। 

मंगलबार राति घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२ औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो। 

लिभरपुलको जीतमा मोहम्मद सलाहले दुई तथा नाबी केइटाले एक गोल गरे। पराजित एट्लेटिकोको लागि दुबै गोल रातो कार्ड सामना गरेका ग्रिजम्यानले गरे। 

खेलको आठौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि नाबी केइटाले २-० को अग्रता बनाए।

तर, खेलको २० औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले ३४ औं मिनेटमा गोल गर्दै खेललाई मध्यान्तरमा २-२ को  बराबरीमा ल्याएका थिए। 

७८ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै अवे खेलमा महत्त्वपूर्ण तीन अंक दिलाए ।

समूह बी को अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्‍यो। पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजले ६५ औं मिनेटमा निर्णायक गोल गरे।

३ खेलमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान ४ अंक जोडेको एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन्। मिलानले अंकको खाता खोल्न सकेको छैन। 

Logo