एसियाली छनोट खेलका लागि महिला टोलीको तयारी सुरु

एसियाली छनोट खेलका लागि महिला टोलीको तयारी सुरु


आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आजबाट अभ्यास थालेको छ। २४ खेलाडीलाई समावेश गरि मुख्य प्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास सुरु गरेका हुन्। नोभेम्बर महिनामा युएईमा आयोजना हुने एसियाली छनोट खेलबाट नेपाली टोली अघिल्लो चरण पुग्ने लक्ष्यका तयारी थालेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेका २४ खेलाडीलाई समावेश गरेर मुख्य प्रशिक्षक जगत टमाटाले युएईमा हुने छनोट प्रतियोगिताको अभ्यास आरम्भ गरेका हुन् । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा थालनी गरिएको अभ्यासमा पहिलो दिन टोलीले फिटनेसका लागि विशेष ध्यान दिइएको छ। विभिन्न तीन क्षेत्रमा गरिएको छनोट पश्चात अभ्यास काठमाडौंमा केन्द्रित बनेको छ। घोषणा भएका २४ खेलाडी उत्साहित भएको र लामो समय देखी क्रिकेट खेलिरहेका खेलाडीमा आफ्नो देशलाई विश्वकपसम्म पुर्याउने लक्ष्यका साथ मिहिनेत गर्न खेलाडी आतुर रहेका मुख्य प्रशिक्षक जगत टमाटाले बताए।

पुरुष क्रिकेटको तुलनामा कमै मात्र आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको अनुभव कम नै रहेको छ। घरेलु क्रिकेट प्रतियोगितामा सिमित भएका खेलाडीमा विगतमा फिटनेसको समस्या पनि हुने गरेको थियो। खेलाडीले फिटनेसका लागि व्यक्तिगत तरिकाले मिहिनेत गरिरहेका थिए। यद्यपि प्रतियोगितामा राम्रो प्रदर्शन गर्न फिटनेसलाई ध्यान दिएर तयारी थाल्दा अभ्यास सार्थक हुने प्रशिक्षक टमाटले विश्वास लिएका छन्।

एसियाली छनोटमा ८ टोली भए पनि अन्तिम समयमा चीनले सहभागिता जनाउने छैन। चीन बाहेक मलेसिया, भुटान, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालले छनोटमा प्रतिस्पर्धा गर्दैछन्। छनोट खेल नेपाली टोलीका लागि ठूलो अवसर भएको खेलाडीले बताएका छन्। टोलीमा अहिले युवा र अनुभवि खेलाडीको संयोजन रहेको छ। नयाँ खेलाडीको आगमन र देशलाई विश्वकपसम्म पुर्याउने पाका खेलाडीको आकांक्षा गर्दा टोली कडा मिहेनत गर्नेछ। 

त्यसो त प्रतियोगितामा सहभागि भएका टोलीसँग यस अघि नेपालले प्रतिस्पर्धा गरेर सुखद नतिजा पनि निकालेको छ। नतिजा निकाल्दै अनुभव लिइसकेकाले अघिल्लो चरण पुग्नका लागि नेपाललाई मौका हुनेछ । नयाँ र पुराना पाका खेलाडीको संयोजन भएकोले टोलीले छनोट हुने लक्ष्य लिएको छ। त्यसमा खेलाडी पनि छनोट हुनेमा आशावादी छन्।

क्यानले छनोट खेल अघि केही अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रबन्ध मिलाउने आश्वासन पनि दिएको छ। दुई वर्षदेखि अन्तर्राष्ट्रिय खेलमा सहभागि हुन नपाएको नेपाली महिला क्रिकेट टोली पनि केही अन्तर्राष्ट्रिय म्याच आयोजना भएको अवस्थामा छनोट खेल अघि कमीकमजोरी थाहा पाउने र सोही कमीकमजोरीलाई सुधार गर्दै छनोट खेल खेल्न अपेक्षा राखेको छ। 

Logo