साफ च्याम्पियनसिप: राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा

साफ च्याम्पियनसिप: राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा


अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु–१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ। 

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन्। यद्यपि एन्फाले यो नामावली सार्वजनिक गरेको छैन।

घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी समावेश गरिएको छ। गोलरक्षक अन्जना राना मगर, डिफेण्डरहरु विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकर राष्ट्रिय टोलीका सदस्य हुन्। 

६ खेलाडीले गत साउनमा भएको बंगलोदशविरुद्धको खेल र एएफसी महिला एसियन छनोटमा  राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। 

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। 

ढाका हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म हुनेछ।

प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन्।  नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 

यु–१९ नेपाली टोली –
गोलरक्षक – अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
डिफेण्डर – मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ,
मिडफिल्डर –सुस्मा तामाङ, हिमा रावत, दिपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई,
फरवार्ड –अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा।

Logo