संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन नेकपा सचिवालयको सुझाव

संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन नेकपा सचिवालयको सुझाव


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले त्यस्तो सुझाव दिएको हो । संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने–‘विभिन्न संवैधानिक निकायको नियुक्तिको बारेमा संवैधानिक परिषद्को बैठक छिटो बसेर आवश्यक निर्णय लिन अनुरोध गरेको छ ।’ साथै पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय समेत सचिवालय बैठकले गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तैगरी आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिबारे कुनै छलफल नभएको उनले जानकारी दिए । साथै पार्टी उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरिएकाेबारे अहिलेसम्म पार्टीमा कुनै जानकारी नआएको उनले बताए । गत असोज ४ गते कोटेश्वरस्थित पेरिसडाँडामा गरिएको निर्णय बाहेक आजको बैठकमा कुनै थप निर्णय नभएको उनको भनाइ छ । आइतबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीतिगत निर्णय गरेको थियो ।

उक्त बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहितका चार एजेण्डा तय गरेको थियो । जसमध्ये मन्त्रिमण्डल पुनर्गठन गर्ने, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने र विविध रहेका थिए । विविध अन्तर्गत केन्द्रीय विभाग, केन्द्रीय समिति तथा स्थायी कमिटीमा रिक्त पदपुर्ति, कारबाही र केन्द्रीय कमिटी सदस्यलाई आर्थिक सहयोग गर्ने रहेका थिए ।

Logo