स्पेनिस ला लिगा: मड्रिड स्तब्ध बन्दा बार्सिलोनाको जित

स्पेनिस ला लिगा: मड्रिड स्तब्ध बन्दा बार्सिलोनाको जित


स्पेनिस ला लिगामा रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ। 

राति गेटाफेसँग १-० को अप्रत्याशित हारसँगै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो। 

गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो। 

२० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ। मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ। तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ। 

राति नै भएको अर्काे खेलमा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍याे। क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो।

जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ। पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ। 

Logo