सहिद स्मारक ‘ए’ डिभिजन लिगः आठौं चरणका खेल आजबाट हुने

सहिद स्मारक ‘ए’ डिभिजन लिगः आठौं चरणका खेल आजबाट हुने


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आजबाट सुरु हुँदैछ। दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र अपराह्न पौने ५ बजे सुरु हुनेछ। 

दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। आठौंं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ। बलियो देखिएको संकटा सातदोबाटोविरुद्ध हाबी हुन सक्छ। रवि सिलवालको कप्तानीमा उत्रने संकटालाई विदेशी डिफेण्डर टंम्पी घाइते हुँदा अभाव खड्किनेछ। तेस्रो स्थानको संकटा ७ खेलमा १३ अंक जोडेको छ। 

नवप्रवेशी सातदोबाटो अर्काे अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ। अपराजित संकटालाई हराउँदै सातदोबाटो पुनः आफ्नो सुरुआती लय समात्ने योजनामा छ। ८ अंक जोडेर आठौं स्थानमा रहेको संकटा तेस्रो जित निकाल्दै छैठौ स्थानमा उक्नले दाउमा छ। मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई ह्याट्रिक कर्ता विदेशी फरवार्ड माटिन्सको अभाव हुनेछ। 

दिनको दोस्रो खेलमा रेलिगेशन प्रतिस्पर्धा रहेको छ। जहाँ विभागीय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछ। 

पछिल्लो दुई खेलमा विदेशी खेलाडी उतार्दै एपीएफले आफूलाई बलियो रहेका प्रमाणित गरेको छ। नविन लामाको कप्तानीमा एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन जोनबाट टाढा रहन चाहन्छ। एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ। 

तुलनात्मकरुपमा राम्रो प्रदर्शन गर्दै आएको जावलाखेल पाएको अवसरलाई सदुपयोग गर्दै लय समात्ने योजनामा छ। कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ।

Logo