प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि एपिएफ क्लबले जित्याे

प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि एपिएफ क्लबले जित्याे


नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे उपाधि जितेको छ। 

बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो। तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो।

एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो। पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए। यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए । 

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । यस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए । 
    
यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे ।  

एपीएफका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे। यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे। 

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक  विकेट लिए।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए। १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो। 
        
प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गरेका छन्। 

Logo