एएफसी महिला एसियन कप: अस्ट्रेलियाद्वारा इन्डोनेसिया १८-० गोल अन्तरले पराजित

एएफसी महिला एसियन कप: अस्ट्रेलियाद्वारा इन्डोनेसिया १८-० गोल अन्तरले पराजित


उपाधि दाबेदार अस्ट्रेलियाले कमजोर मानिएको इन्डोनेसियालाई एएफसी महिला एसियन कप–२०२२ को आफ्नो पहिलो खेलमा शुक्रबार १८–० ले पराजित गरेको छ। 

युरोपेली फुटबलको अनुभव बटुलेको अस्ट्रेलियाका खेलाडी सामु भारतको मुम्बई फुटबल मैदानमा निरीह बनेको इन्डोनेसियाले कुनै पनि समय दबाब बनाउन सकेन। 

पहिलो हाफमा नौ गोल गरेको अस्ट्रेलियाले दोस्रो हाफमा थप नौ गोल गरेको थियो। अस्ट्रेलियाकी साम कर एक्लैले पाँच गोल गरिन् । यस्तै भान इगमोण्ड र सिमोनले समान चार गोल गरे। 

जितसँगै अस्ट्रेलियाले समूह ‘बी’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ। यस समूहमा अस्ट्रेलियासँगै फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया रहेका छन्। 

यस अघि आज भएको पहिलो खेलमा अर्को उपाधि दाबेदार जापानले म्यानमारलाई ५–० ले पराजित गर्‍यो। जितसँगै समूह ‘सी’ बाट जापानले तीन अंक बटुल्यो। यस समूहमा जापान र म्यानमार सहित दक्षिण कोरिया र भियतनाम रहेका छन्। 

यस अघि बिहीबारबाट सुरु भएको प्रतियोगितामा चीनले चाइनिज ताइपेलाई ४–० ले पराजित गर्दा आयोजक भारत र इरानले गोलरहित बराबरी खेल्दै अंक बाढे।

Logo