आइसीसी टी- २०ः लगातार जितको दाउमा नेपाल

आइसीसी टी- २०ः लगातार जितको दाउमा नेपाल


आइसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिवार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रन मात्र जोड्न सक्यो ।

शनिवार जितसहित सेमिफाइनल प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

Logo