फोटोपसलद्वारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला

फोटोपसलद्वारा फोटोग्राफरहरुलाई १ दिने कार्यशाला


“सिकौं, सिकाऔं, उठौ, उठाऔं, अनि फोटोग्राफरको सम्मानमा सधैं अग्रसर बनौं” भन्ने नारा लिएर पेशागत रुपमा फोटो व्यवसाय गरिरहेका फोटोग्राफरहरुलाई १ दिने कार्यशाला संचालन भएको छ। 

फोटोपसलको आयोजना तथा फोटोकिपाको सहआयोजनामा भएको उक्त कार्यशालामा माउन्टेन फोटोग्राफीका बादशाहका रुपमा चिनिने जगदिश तिवारी, वरिष्ठ फेशन फोटोग्राफर राजभाई सुवाल, फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले कार्यशालामा आफ्ना अनुभव राखेका थिए । 

देशभरबाट १५० जना सहभागि रहेको कार्यशालामा बोल्दै माउन्टेन फोटोग्राफर जगदिश तिवारीले पेशागत सम्मानका लागि कार्यदक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र त्यसका लागि सिपमा निखारपना ल्याउनु पर्नेमा जोड दिएका थिए । 

फोटोपसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले फोटोग्राफरलाई एउटै ठाउँमा उभिएर व्यावसायीकतामा निखारपना ल्याउन फोटोपसलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठेर काम गर्ने बताए । 

वरिष्ठ फेशन फोटोग्राफर राजभाई सुवालले बदलिंदो डिजिटल दुनियाँमा फोटोग्राफरले चुनौतीको सामना गर्दै अगाडि बढ्ने हो भने संसारकै सबैभन्दा धेरै अवसर रहेको पेसामा फोटोग्राफी रहेको बताउँदै प्रविधिको साथमा आफूलाई पनि अपडेटमा राख्न फोटोग्राफरहरुलाई सुझाए । 

फोटोपसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले प्रविधि, सिप, र बजारीकरणको मुल मर्मलाई आत्मसाथ गर्दै देशभर रहेका फोटोग्राफरहरुलाई एकसाथ अगाडि बढाउने योजनासहित फोटोपसलले कार्यशाला गर्दै आइरहेको बताए । 

कार्यक्रममा वरिष्ठ माउन्टेन फोटोग्राफर जगदिश तिवारी र वरिष्ठ फेशन फोटोग्राफर राजभाई सुुवाललाई सम्मान गरिएको थियो । त्यसैगरि विश्व फोटोग्राफी दिवसको अवसरमा गरिएको कप्पल प्रोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उत्कृष्ट, सर्वोत्कृष्ट, विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । जसमा फोटोग्राफर विवेक श्रेष्ठले खिचेको जोडी फोटो विजयी भएको थियो । 
सो अवसरमा वरिष्ठ फोटोग्राफर रतनमान आँशु, नेपाल विडिङ फोटोग्राफी एशोशियसनका संयोजक बसन्त गौतम, काठमाडौंं फोटोग्राफी संघका अध्यक्ष दिगम्बर राजवंशी, फोटोग्राफर अमरेन्द्र श्रेष्ठ, फोटोग्राफर सहनवाज मोहम्मद (शवहिल), युशफ्ट टेक्नोलोजीका निर्देशक बुद्ध मानन्धर लगायतले कार्यशालाको निरन्तरता आवश्यक रहेको सुझाउँदै भोलिका दिनमा थप परिस्कृत कार्यक्रमहरु फोटोग्राफरमाझ पस्किनु आवश्यक रहेको बताए । 

Logo