त्रिदेशीय क्रिकेट सिरिज : नेपालको विजयी सुरुवात

त्रिदेशीय क्रिकेट सिरिज : नेपालको विजयी सुरुवात


नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ ।  सिरिजको उद्घाटन खेलमा नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले पराजित गर्‍यो । योसँगै नेपालले वन डे क्रिकेटमा पीएनजीसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

नेपालले दिएको १८४ रनको उच्च लक्ष्य पछ्याएको पीएनजी निर्धारित ओभर सकिन ४ बल अगावै १६८ रनमा अलआउट भयो । नोर्मान भानुले ५२, सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिआकाले २१ रन बनाएपनि हार भने टार्न सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए । अभिनाष बोहोरोले २ र सोमपाल कामीले १ विकेट झारे ।  

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८३ रनको योगफल तयार गर्‍यो। 

२५ रन जोड्दा कुशल भुर्तेललाई व्यक्तिगत २० रनमा गुमाएको नेपालको इनिङ्स आशिफ शेख र रोहितकुमार पौडेलले सम्हालेका थिए । दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै आशिफ र रोहितले नेपालको इनिङ सम्हालेका थिए। रोहित ३४ र आशिफ ४३ रनमा आउट भए । 

करण केसीले १४, आरिफ शेखले ३१ रन र कुशल मल्लले ११ रन बनाए। 

पीएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले एक एक विकेट 
हात पारे ।

सिरिजको दोस्रो खेलमा भोलि मलेसिया र पीएनजीबीच खेल हुनेछ । नेपालले भने आफ्नो दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिज डबल राउण्ड रोबनका आधारमा भइरहेकाे छ । 

Logo