फुटबलको महाकुम्भ : २९ राष्ट्र छनोट, ३ टोलीको टुंगो लाग्न बाँकी

फुटबलको महाकुम्भ : २९ राष्ट्र छनोट, ३ टोलीको टुंगो लाग्न बाँकी


फुटबलको महाकुम्भ अर्थात  विश्व कप फुटबल २०२२’ यही वर्षको नोभेम्बर २१ देखि डिसेम्बर २८ सम्म दोहामा हुँदैछ। विश्वकप फुटबलको इतिहासमा पहिलो पटक चिसो मौसममा महाकुम्भको आनन्द दर्शकले लिँदैछन्। स्टेडिममा उपस्थित दर्शकलाई भने मैदानको गर्मागर्मीले चिसोको महशुस पक्कै पनि गराउने छैन । 

विश्वकप फुटबलका लागि अहिलेसम्म २९ राष्ट्रले कतारको टिकट काटेका छन्। बाँकी ३ वटा देशको भाग्य परीक्षा बाँकी नै छ। युरोपियन प्लेअफबाट एक तथा अन्तर महादेशीय प्लेअफबाट २ वटा टिमको छनोट हुन बाँकी छ। 

रुस–युक्रेनबीचको युद्धका कारण युरोपियन प्लेअफ हुन बाँकी छ। त्यसका लागि युक्रेन र स्कटल्याण्डबीचको विजेताले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ। अर्को तर्फ अन्तरमहादेशीय प्रतिस्पर्धामा अष्ट्रेलिया र युएईबीचको विजेताले पेरुसँग प्रतिस्पर्धा गर्दा कतार विश्वकपमा स्थान सुरक्षित गर्न कोस्टारिका र न्युजिल्याण्डपनि आमने सामने हुनेछन्।    

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसअघि नै खेल तालिका भने सार्वजनिक गरिसकेको छ। महाकुम्भको उद्घाटन आयोजक कतार र इक्वेडरबीच नोभेम्बर २१ मा प्रतिस्पर्धा हुनेछ। समुह ए कै अर्को खेलमा सोही दिन सेनेगल र नेदरल्याण्डस्बीच पनि खेल हुनेछ। समूह बी को खेलमा इङ्ल्याण्ड र इरान तथा अमेरिका र युरोपियन प्लेअफको विजेता टोलीबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकप सुरु हुन अझै सात महिना बाँकी छ। अझैपनि स्टेडियममा आन्तरिक काम जारी छ । रंगरोगनदेखि स्टेडियमलाई अन्तिम रुप दिन कामदारहरु खटिएका छन्। महाकुम्भका लागि तयारी सुरु गर्दा देखि नै कतारले कामदारको श्रम शोषण गरेको भन्दै आवाज नउठेको पनि हैन। एम्नेष्टि इन्टरनेशनलले स्थलगत अध्ययनपछि शोषण भएको निष्कर्षसहितको प्रतिवेदन नै सार्वजनिक पनि गरेको थियो। तर सो विषयमा ठोस निर्णय हुन सकेको छैन। श्रम शोषणमा पर्ने मध्ये नेपाली कामदारको संख्या पनि धेरै रहेको चर्चा छ। 

फिफाको कार्यकारी समितिले १० वर्षअघि कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयपछिबाट रंगशाला निर्माणको काम सुरु भएको हो। बिदेशी कामदारको सहयोग बिना रंगशाला निर्माणको काम असम्भव रहेको अवस्थामा कतारले हजारौंको संख्यामा कामदार आह्वान गर्दै महाकुम्भको तयारी सुरु गरेको थियो। 

रंगशाला निर्माण सुरु भएदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका ६ हजार ५ सय भन्दा बढि आप्रबासी कामदारहरुको मृत्यु भएको रिपोर्ट गत वर्ष नै गार्डियनले पनि प्रकाशन गरेको थियो। अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.एल.ओ) ले एक रिपोर्ट प्रकाशित गर्दै रंगशाला निर्माणका क्रममा ५ सय जना गम्भीर घाइते र ३६ हजार ६ सय जनालाई हल्का देखि मध्यम प्रकारको चोटपटक लागेको उल्लेख गरेको थियो। रिपोर्टमा आईएलओले दुर्घटनाको मुख्य कारणका रुपमा भारी सामानले थिच्नु र माथिबाट खस्नुलाई लिएको छ । 

खाडी राष्ट्रमा हुन लागेको यो विश्वकप आयोजना पहिलो हो। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकप एसियाकै पहिलो थियो। 

इटाली, इजिप्ट, रुसलगायत देशले कतार विश्वकपमा स्थान बनाउन सकेनन्। प्लेअफमा विश्ववरीयातामा तल रहेको नर्थ मेसोडोनियासँग पराजित भएपछि युरोपियन च्याम्पियन इटली प्रतियोगिताबाट बाहिरियो। नर्वे, आइभोरी कोस्ट, नाइजेरिया, अल्जेरिया, कुवेट, उत्तर कोरिया, इराक पनि कतार विश्वकपका लागि छनोट हुनबाट चुके। विश्वकपमा यो पटक पनि फ्रान्स, अर्जेन्टिना, ब्राजिल, इङ्ल्याण्ड, जर्मनी, स्पेनलाई नै प्रमुख दाबेदार मानिएको छ। तर फुटबलको आँखा हुँदैन । खेलका दौरान सिद्धहस्त टोलीमाथि कमजोर मानिएका राष्ट्रको अप्रत्यासित नतिजाले कतार विश्वकपबाट नयाँ विजेता जन्मिदैन पनि भन्न सकिन्न । 

Logo