इङग्लिस प्रिमियर लिगः आज लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीच खेल हुँदै

इङग्लिस प्रिमियर लिगः आज लिभरपुल र म्यान्चेस्टर युनाइटेडबीच खेल हुँदै


इङग्लिस प्रिमियर लिगको आजको खेलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडको खेल हुँदैछ। इङग्लिस फुटबलमा निकै महत्वपूर्ण मानिने यस डर्बीमा लिभरपुलले आफ्नो घरेलु मैदानमा युनाइटेडको सामना गर्दैछ । 

म्यानचेष्टर युनाइटेडलाई आउँदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई जिवितै राख्न आज लिभरपुलविरुद्ध बराबर वा जित्नु जरुरी छ । सिजनको पहिलो भेटमा म्यानचेष्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको लिभरपुल निकै राम्रो फर्ममा रहेको छ । शीर्षस्थानमा रहेको म्यानचेष्टर सिटीविरुद्ध केवल एक अंकले पछि रहेको लिभरपुल आज जित निकाल्न सकेमा म्यानचेष्टर सिटीलाई उपाधिका लागि लगातार दबाब दिन सक्षम हुनेछ । 

लिभरपुलले आफ्नो पछिल्लो खेलमा म्यानचेष्टर सिटीलाई ३—२ ले पराजित गरेको थियो । चौथो स्थानमा रहेको टोटन्ह्यामसँग केवल ३ को दुरीमा रहेको म्यानचेस्टर युनाईटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउनका लागि हरेक खेल जित्नु पर्ने दबाब छ । लिभरपुललाई पनि म्यानचेस्टर सिटीभन्दा अघि बढ्नका लागि लिगका बाँकीका खेलहरूमा राम्रो प्रदर्शनी गर्नु चुनौती हुनेछ ।

म्यानचेष्टर युनाईटेडविरुद्ध पछिल्ला ५ प्रिमियर लिगका खेलमा ४ मा जित र एकमा बराबरी गरेको लिभरपुल आज पनि सोही लक्ष्यलाई निरन्तरता दिने प्रयासमा रहेको छ ।

अर्कातिर रोनाल्डो र उनकी प्रेमीका जर्जिनाले गए राति आफ्नो छोराको मृत्यु भएको खबर सामाजिक सन्जालमा पोस्ट गरेका छन् । यस्तो अवस्थामा म्यानचेष्टरका स्टार खेलाडी उनी आजको खेल खेल्ने सम्भावना कमै छ । दुवैले सामाजिक संजालमा लेखेको पोस्टमा भनिएको छ, “गहिरो दुःखका साथ हामी हाम्रो छोराको मृत्यु भएको जानकारी गराउन चाहन्छौँ । यो क्षतिका कारण हामी सबै अत्यन्त दुःखी भएका छौँ र यो कठिन घडीमा हामी गोपनियता चाहन्छौँ ।’’ यो जानकारीपछि धेरै खेलप्रेमीहरु अन्योलमा छन् कि आज उनी मैदानमा आउँछन् कि आउँदैनन् ।

प्रिमियर लिगमा लिभरपुलविरुद्ध लगातार सात खेलमा जितबिहीन रहेको युनाईटेडले पछिल्लो पटक २०१८ मा २–१ ले खेल आफ्नो पक्षमा पारेको थियो । तर लगातारको अपराजित यात्रा र निकै उच्च फर्ममा रहेको लिभरपुलले आज म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकाल्ने सम्भावना भने उच्च रहेको छ । 

म्यान्चेस्टर युनाइटेडको जारी सिजनमा लय भने राम्रो हुन सकेको छैन । यसअघिका खेलमा पुछारमा रहेको नर्विच सिटीविरुद्ध निकै कठिन जित निकालेको युनाईटेडले एभर्टनविरुद्ध नमिठो हार बेहोरेको थियो । चौंथो स्थानमा रहेको टोटेन्ह्यामसँग केवल ३ अंकको दुरीमा रहेको म्यानचेस्टर युनाईटेडले, आउँदो सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउनका आफ्नो आउँदा हरेक खेल जित्नु पर्ने दबाब रहेको छ । 

यो सँगै म्यानचेस्टर युनाईटेडले लामो कसरत पश्चात एरिक टेन हगलाई आफ्नो नयाँ प्रशिक्षक बनाउने भएको छ । हाल अस्थायी प्रशिक्षकका रुपमा राल्फ राग्निक म्यानेजरका रुपमा छन् । सन् २०१९ मा आयाक्सको म्यानेजरका रुपमा नियुक्त भएपछि उनले आयाक्सलाई राम्रो अवस्थामा ल्याएका थिए । म्यानचेस्टर युनाईटेडले उनलाई भित्र्याउनका लागि २ मिलीयन युरो तिर्नुपर्नेछ। 

Logo