शोकमा रहेका रोनाल्डोलाई जब लिभरपुलका समर्थकले समवेदना प्रकट गरे…

शोकमा रहेका रोनाल्डोलाई जब लिभरपुलका समर्थकले समवेदना प्रकट गरे…


भनिन्छ, खेलकुदमा मानवता विस्तारै हराउँदै गइरहेको छ। तर मंगलबार म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा लिभरपुलका समर्थकहरुले यो भनाइलाई गलत सावित गरिदिए। 

आफ्ना नवजात शिशुको मृत्युका कारण विक्षिप्त बनेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा आफू बसेको कुर्सीबाट उठेर उनको नाम लिएर १ मिनेटसम्म ताली बजाए। मंगलबार आफ्नो सामाजिक सञ्जालमा जुम्ल्याहा मध्येका एक शिशु(छोरा)को निधन भए पश्चात परिवार र आफू निकै दुःखी भएको उनले बताएका थिए । 

सामाजिक सञ्जालमा उनको पोष्ट बाहिरिनेबित्तिकै संसारभरिका समर्थक तथा रोनाल्डो भनेर चिन्ने सम्पूर्ण मानिसहरुले रोनाल्डोप्रति समवेदना प्रकट गर्दै यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका थिए । खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै लिभरपुलका समर्थकहरुर्ले  यु विल नेभर वाक अलोन’ गीत गाएका थिए । 

यस्तो अप्रिय घटनाका कारण रोनाल्डोका समर्थनमा म्यानचेष्टर युनाइटेड तथा लिभरपुल दुबैतर्फका खेलाडीहरुले हातमा कालो आर्म ब्याण्ड लगाएका थिए । लिभरपुलका म्यानेजर योर्गन क्लपले पनि रोनाल्डोलाई यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि कामना गरेका थिए । 

म्यानचेस्टर युनाईटेड र लिभरपुल दुबै एक अर्काका कट्टर प्रतिद्वन्द्वी टीम हुन् । कट्टर प्रतिद्वन्द्वी खेलाडीका लागि यति धेरै सहानुभूति प्रकट गर्नु वास्तवमै सबैका लागि एउटा राम्रो उदाहरण लिभरपुल बनेको छ। 

लिभरपुलले गए राति म्यानचेस्टर युनाईटेडविरुद्ध सहज जित निकाले पनि लिभरपुलका खेलाडी र समर्थकका कदमले संसारभरकै फुटबलप्रेमीहरुको मन जित्न सफल भएको छ।

Logo