क्लब करिअरमा क्रिष्टियानो रोनाल्डो ७०० गोल नजिक

क्लब करिअरमा क्रिष्टियानो रोनाल्डो ७०० गोल नजिक


पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो करियरको १९ वर्षे यात्रा पूरा गरिरहँदा ब्यक्तिगत कीर्तिमान राख्न भने छाडेका छैनन्। 

५ पटकका फिफा बालोन डी’ओर बिजेता खेलाडी रोनाल्डोले व्यवसायिक करियरमा आधिकारिकरुपमा आठ सय सात गोल गरि विश्व कीर्तिमान बनाइसकेका छन् । समग्र क्लब करिअरमा हालसम्म ६९७ गोल गरिसकेका रोनाल्डो, क्लब करियरमा ७०० गोलको आँकडा नजिक पुगेका छन्।

शुक्रबार बिहान चेल्सीविरुद्धको खेलमा १ गोल गर्दै रोनाल्डोले आफ्नो क्लब करियरमा ६९७ औं गोल गरेका छन् । चेल्सीविरुद्ध एक गोल पनि नगरेको रेकर्डलाई तोड्ने क्रममा क्रिष्टियानो रोनाल्डोले दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण १ अङ्क दिलाएका थिए । आज बिहान भएको चेल्सीविरुद्व म्यानचेस्टरको खेल १-१ को बराबरीमा सकिएको थियो ।

अब तीन गोल मात्र गरे रोनाल्डो क्लब करियरमा ७ सय गोल गर्ने कीर्तिमानी खेलाडी बन्नेछन् । चेल्सीविरुद्ध गोल गरेसँगै रोनाल्डोले समग्र सिजनमा आफ्नो गोल संख्या १७ पुर्याईसकेका छन् । रोनाल्डोभन्दा अघि लिभरपुलका मोहमद साला (२२) मात्र रहेका छन् । 

रोनाल्डोले गोल गरिरहँदा उनको टोली म्यानचेस्टर युनाईटेडले भने आफ्नो प्रदर्शनमा सुधार ल्याउन सकेको छैन । चेल्सीविरुद्ध १–१ को बराबरीसँगै युनाइटेड लिगको छैठौं स्थानमा रहेको छ। 

Logo