दोस्रो मेडल ल्याउनेलाई भारी बाेकेकाे गाडीमा लैजाँदा मन रोएको थियो : आयशा शाक्य

दोस्रो मेडल ल्याउनेलाई भारी बाेकेकाे गाडीमा लैजाँदा मन रोएको थियो : आयशा शाक्य


आयशा शाक्य नेपाली खेलकुद क्षेत्रमा चिनाइराख्नु पर्ने नाम हाेइन । तेक्वान्दो खेलाडी दीपक विष्टकी श्रीमती शाक्य आफ्नै नामले परिचित छिन् । १३ औँ सागमा २ स्वर्ण जितेपछि उनमा आशाको सञ्चार भएको थियाे । २ स्वर्ण पदक उनले आफ्ना २ छोरामा समर्पित गरेकी छन् । 

“सन्तान जन्माएपछि महिला खेलाडी पुरानै अवस्थामा फर्किन सक्दैनन् भन्ने धेरैलाई भ्रम छ। म यसलाई कसैगरी पनि चिर्न चाहन्थेँ। त्यसका लागि मिहिनेत पनि गरेँ। अहिले सबैको अगाडि एउटा उदाहरण बन्न पाउँदा खुसी लागेको छ,” उनले भनेकी छिन्। यसपटक हामीले उनै चर्चित खेलाडी आयशासँग कुराकानी गरेका छाैं । 

यहाँसम्म आइपुग्दा तपाईंले खेलकुदमा महिलाहरुको सहभागीता कस्तो पाउनु भयो?

मैले सुरु गर्दा छोरीहरुलाई खेलकुदमा त्यति प्राथमिकता दिइँदैनथ्यो। छोरीहरु छोराहरुको तुलनामा कमजोर हुन्छन् भन्ने मान्यता थियाे। खेलकुद चाहिँ  महिलाहरुको होइन भनिन्थ्याे ।   महिला सहभागीता एकदम कम हुन्थ्यो। सपाेर्ट पनि एकदम थोरै । मैले चिनेका दिदीहरु घरबाट लुकेर सिक्न जानु हुन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन । धेरैको घरबाट सपाेर्ट देखिरहेको छु। अहिले त छोरीहरुलाई आफैं निर्णय गर्नको लागि भए पनि खेलकुदतिर लाग्नु पर्छ, तेक्वाण्डाे लगायतमा ध्यान दिनु पर्छ भन्नु हुन्छ । यो लगायत अहिले महिलाहरुले पनि फुटबल अनि अन्य खेलकुदमा स्थान पाएका छन्। यसले पनि धेरै सहयाेग गरेको देखिन्छ। 

खेलकुदसँग जोडिएको तपाईंको कुनै अविस्मरणीय पल वा घटना छन् की?

हरेक खेलहरु अविस्मरणीय नै हुन्छन्। म सानो छँदा  कुनै पनि  खेलकुदमा केहि नपाउँदा आशा मारिसकेको थिएँ । त्यही क्रममा बसन्तपुरमा मैले बेस्ट प्लेयर अवार्ड पाउँदा चकित भएँ । मेरो पहिलो अवार्ड अविस्मरणीय लाग्छ।

अर्को चाहिँ र्यालीमा जाँदा गाेल्ड मेडल पाउनेलाई रथमा लगिएको थियो । हामी दोस्रो मेडल ल्याउनेलाई खुल्ला जीपमा राखेर लैजाँदा गाई गोरुलाई लगेको जस्तो लाग्दा मन रोएको थियो। त्यस पछि साउथ एसियन गेममा गाेल्ड मेडल ल्याउँछु भनेर आफूलाई तयार पारेँ । मेरो यो सेल्फ माेटिभेसन भयो, त्यसैले म अहिले यहाँसम्म आइपुगेँ । रथ पनि चढेँ। यो मेरो खुसीको पल हो।

खेलाडी बनेर चाहिँ मैले राम्रो काम गरेँ अथवा म राम्रो भएँ भनेर तपाईंले कसरी भन्न सक्नु हुन्छ?

मलाई लाग्छ मैले खेलाडी बनेर सही काम गरेँछु। मैले अर्को पेशा गरेको भए केही गर्थेँ, कमाउँथे होला तर जसरी अहिले मलाई आयशा शाक्य भनेर नाम कमाएको छु, त्यस्तो अरु पेशामा पाउँदिनथिएँ । खेलाडी बनेर म  राम्रो भएँ भनेर भन्न सक्छु किनभने म दुई छोराहरुको आमा भएर पनि दुई वटा गाेल्ड मेडल ल्याउँदा, अरु महिलाहरुका लागि इन्सपिरेसन र राेल माेडेल बन्न पुगेछु ।

तपाईंको विचारमा महिलाहरुको लागि खेलकुदमा बाधा पुर्याउने कुराहरु के कस्ता छन्?

पहिलो कुरा, खेलकुद महिलाहरुका लागि होइन र उनीहरु कमजोर हुन्छन् भनेर सोच्नु हो जस्तो लाग्छ। दोस्रो कुरा केटी मान्छेले खेलकुद खेल्दा बिग्रिन्छन् भन्ने सोचले पनि यस्ताे भएकाे हाे। अहिलेभन्दा पनि उहिले त्यस्तो थियो । अर्को चाहिँ पुरुषको तुलनामा महिलाको खेलहरू कम छन्। महिलाको खेलकुदलाई कम प्राेमाेट गर्नु र कम प्राथमिकता दिनु पनि हो। 

महिलाहरुलाई खेलकुदमा आकर्षण गर्न पुरुषहरुको के कस्तो भूमिका महत्वपूर्ण हुन्छ?

पुरुषलाई जस्तै महिलाहरुलाई पनि धेरै मौकाहरु दिनु पर्छ। श्रीमान् , अभिभावक अनि परिवारका सदस्यहरूले माेटिभेट गर्नु पर्छ। मलाई मेरो बुवाले सपाेर्ट गर्नु भएको हो। त्यसपछि मेरो श्रीमानले पनि उत्तिनै सपाेर्ट गर्नु भएको हो। मिडियातिर हेर्नु पर्दा पुरुषहरुले महिलाहरुलाई सपाेर्ट अनि प्राेमाेट दिनु पर्छ। अन्तर्राष्ट्रिय खेलहरूमा पुरुषले भन्दा महिलाहरुले धेरै पदक ल्याउनु भएको कुरा हाइलाइट गर्नु पर्यो। यसरी हौसला दिन सकिन्छ।

महिला खेलाडी भएकै कारण तपाईंले भोग्नु परेका चुनौतीहरू छन् की ?

चुनौतीहरू धेरै छन् । परिवार, समाज लगायत थुप्रै छन् । मैले विवाह गरेपछि मेरो श्रीमानको कोटाले गर्दा मात्र फेरि गेममा आएको हो, मेरो क्षमता छैन पनि भनिएको थियो। मानसिक तनाव धेरै नै थियो। मैले बिहे अगाडि नै गाेल्ड मेडल्स र अरु थुप्रै पुरस्कारहरु ल्याइसकेको थिएँ। नकारात्मक कुरालाई सकारात्मकरुपमा लिएर आफ्नो ट्रेडिङलाई अगाडि बढाएँ । मैले त्यो मान्छेलाई गरेर देखाउनु पर्छ भन्ने भयो। अर्को चुनौती चाहिँ आमा भएर आफ्ना नानीहरुलाई समय दिनु पाइनँ। 

भर्खरै मात्रै खेलकुदमा पाइला चालेका महिलाहरुलाई तपाईं के भन्न चाहनु हुन्छ? 

महिला वा पुरूष दुवैलाई प्राेत्साहनको खाँचो छ। महामारी अनि नेपालको अर्थतन्त्रकाे अवस्थाले गर्दा धेरै जनाले काम बीचमै छाेड्नु भएकाे छ। म उहाँहरुलाई यही भन्न चाहन्छु की जुन इच्छा, आकांक्षा लिएर अघि बढ्नु भएको थियो, त्यसैलाई नै निरन्तरता दिनु होस्। जीवनमा दुःख, बाधाहरू आउँछन् नै। बाधाहरू आउँन जरुरी पनि छ। हरेक सफलता सजिलो छैन। यसैले नै हो सिकाउने। सकरात्मक सोच र आफू खुसी हुनुहोस्। आफूमाथि विश्वास राख्नुहोस्। आफ्नो उद्देश्यलाई बोझ हैन, खुसी भएर मेरो काम हो भन्ने सोच राख्नुहोस्। यसले सफलता पाउन सजिलाे हुन्छ।

(अंकिता राई प्रशिक्षार्थी पत्रकार)

Logo