सञ्जु चौधरीको मृत्यु रहस्यमय, नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति

सञ्जु चौधरीको मृत्यु रहस्यमय, नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति


सोमबार बिहानै नेपाली खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्यो । घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी २२ वर्षीया सञ्जु चौधरी आफू सुतेको कोठामा मृत फेला परिन् । 

अघिल्लो रात लुभु जात्रामा खेलाडी साथी, खेलकुद संघका पदाधिकारी र प्रशिक्षकसँग रमाइलो गर्दै खानपिन गरेर हँसिलो मुद्रामा सबैसँग बिदा भएकी सञ्जु सोमबार बिहान कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । 

को थिइन् सञ्जु?
नेपालगन्ज भारोत्तोलनको प्रमुख केन्द्र हो । पार्थ सारथी सेन गुप्ता र ओलम्पियन सुरेन्द्र हमाल जस्ता दिग्गज जन्माएको नेपालगन्जकी चेली थिइन् सञ्जु चौधरी । सञ्जुलाई नेपाली भारोत्तोलनमा अहिलेसम्मकी सबैभन्दा सफल खेलाडी मानिन्छ । जीवनकै छोटो अवधिमा उनले नेपाली खेलकुदको इतिहासमा आफ्नो नाम लेखाएकी छन् । उनी भारोत्तोलन तर्फ साग खेलकुदमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुन् ।  

क्रिकेट र एथलेटिक्स हुँदै भारोत्तोलनमा पुगेकी सञ्जुले आफ्नो करियर असफलताबाट सुरु गरेकी थिइन् । उनले आफ्नो भारोत्तोलन करियर पहिलो पटक सातौं राष्ट्रिय खेलकुद (२०७३) प्रतियोगिताबाट सुरु गरिन् । 

सञ्जुले आफ्नो करियरको सुरुवात प्रेसिडेन्सियल रनिङ शिल्ड र क्षेत्रीय क्रिकेट प्रतियोगितामा एथलेटिक्स खेलेर गरेकी थिइन् । उनले त्यो समय तौल उठाउन थालेको ६/७ वर्ष मात्र भएको थियो  सञ्जु भन्ने गर्थिन “मेरो पहिलो भारोत्तोलन प्रतियोगितामा खेलाडीहरु नयाँ भएकाले नियम नबुझेर धेरै खेलाडीहरु अयोग्य घोषित भए पनि भारोत्तोलनका प्रशिक्षकले खेलाडीको शारीरिक तन्दुरुस्ती र क्षमताको  आधारमा छनोट गरिरहेका थिए । ती मध्ये भारोत्तोलक तथा आहार पोषणविद् सञ्जय महर्जनले सञ्जुलाई तालिमका लागि काठमाडौं बोलाएका थिए । त्यसपछि मात्र भारोत्तोलनको बारेमा सञ्जुको वास्तविक सिकाइ सुरु भएको थियो । तालिममा सञ्जुले भारोत्तोलनको प्राविधिक सीप सिकेकी थिइन् । त्यसपछि सञ्जुले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । 

सञ्जु चौधरीलाई नेपाली भारोत्तोलनमा अहिलेसम्मकी सबैभन्दा सफल खेलाडी मानिन्छ । नेपालगन्जकी २२ वर्षीया चौधरीले दुई वर्षअगाडि काठमाडौंमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन्, जुन नेपाली भारोत्तोलनमा महिला खेलाडीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता थियो । महिला भारोत्तोलन खेलाडीले पाएको त्यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि थियो । 

क्रिकेट, एथ्लेटिक्स हुँदै भारोत्तोलनमा प्रवेश गरेकी चौधरीले राष्ट्रिय स्तरको सबैजसो प्रतियोगितामा स्वर्ण पदक जितिसकेकी छन् । उनको नाममा थुप्रै राष्ट्रिय कीर्तिमान पनि छन् । सन् २०१७ मा नेपालमा भएको एशियन यूथ एण्ड जुनियर च्याम्पियनशिपबाट उनी चर्चामा आएकी थिइन् । त्यतिबेला उनले पदक जित्न नसके पनि अन्तर्राष्ट्रिय अरिनामा प्रभावशाली प्रदर्शन गरेकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियामा भएको एशियन कप एण्ड क्लब च्याम्पियनशिपमा उनले दुई रजत र तीन कांस्य पदक जितेकी थिइन् । 

सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा भएको १८औँ एशियाली खेलकुदमा उनले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । जापानमा सन् २०२१ मा भएको टोकियो ओलिम्पिक्सका लागि चौधरी नेपाल ओलिम्पिक कमिटीले प्रदान गरेको ओलिम्पिक छात्रवृत्ति पाउन सफल भएकी थिइन् । सो सुविधामा झन्डै दुई वर्ष विशेष प्रशिक्षण पाए पनि उनी टोकियो ओलिम्पिक्सको लागि भने छनोट हुन सकिनन् । अर्को वर्ष चीनमा हुने एशियाली खेलकुदका लागि पनि गत हप्ता मात्र उनी बन्द प्रशिक्षणका लागि छानिएकी थिइन् । 

राष्ट्रिय प्रतियोगितामा सञ्जुका उपलब्धिहरु : 
 १. २०६८ : ओलम्पियन दिवस विशेष पाँचौं ग्रैंड प्रिक्स–रजत पदक
 २. २०७३ : सातौं राष्ट्रिय खेलकुद
 ३. पहिलो नेपाल स्ट्रङटेस्ट सुनिललाल जोशी स्मृति च्याम्पियनसिप २०७४ : स्वर्ण 
    पदक
४. २०७४ राखेप च्याम्पियनसिप : राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक
५. २०७४ पहिलो अन्तरक्लब राष्ट्रिय च्याम्पियनसिप : राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक
६. २०७५ दोस्रो नेपाल स्ट्रङटेस्ट सुनिललाल जोशी मेमोरियल च्याम्पियनसिप :  
   राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक
७. २०७६ तेस्रो नेपाल स्ट्रङटेस्ट सुनिललाल जोशी मेमोरियल च्याम्पियनसिप : राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक
८. २०७८ नवौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनशिप २०२२ : स्वर्ण पदक
   
  अन्तर्राष्ट्रिय करियर
१. एसियाली युवा तथा जुनियर च्याम्पियनसिप २०१७ (काठमाडौं)
२. एसियन कप र क्लब च्याम्पियनसिप २०१७ (कोरिया) : २ रजत र ३ कांस्य
३. एसियाली युवा तथा जुनियर च्याम्पियनसिप २०१८ (उज्बेकिस्तान) : ३ राष्ट्रिय 
   कीर्तिमान
४. १८औं एशियाली खेलकुद २०१८ (जकार्ता) : तीन राष्ट्रिय कीर्तिमान
५. एसियाली वरिष्ठ भारोत्तोलन च्याम्पियनसिप २०१९ (चीन)
६. १३औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ (नेपाल) : स्वर्ण पदक
७. एसियाली भारोत्तोलन च्याम्पियनसिप २०२१ (उज्बेकिस्तान)

Logo