एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा, कप्तान चेम्जोङ नै परेनन् टिममा

एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा, कप्तान चेम्जोङ नै परेनन् टिममा


नियमित कप्तान किरण चेम्जोङसहितका सिनियर खेलाडीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। 

एन्फाले शुक्रबार एसियन कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको  हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग प्रशिक्षणका क्रममा देखिएको विवादको प्रत्यक्ष असर राष्ट्रिय टिम घोषणामा समेत देखिएको हो। शुक्रबार घोषणा भएको टोलीमा कप्तान किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, बिमल घर्तिमगर, सुमन लामा, सुमन अर्याल र दिनेश राजवंशी परेका छैनन्। 

प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० खेलाडीले प्रशिक्षण छाडेका थिए। किरणले भने १० खेलाडीको पक्षमा आफू रहेको अभिब्यक्ति दिएका थिए। 

खेलाडीले बन्द प्रशिक्षण छाडेपछि विवादको सत्यतथ्य पहिचान गर्न एन्फाले बनाएको समितिले आफ्नो प्रतिवेदन बुधबार नै बुझाइसकेको छ। एन्फा स्रोतका अनुसार नेपाली सेनाका पूर्वउपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठित तीन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई बर्खास्त गर्न सुझाएको छ। 

एएफसी एसियन कप छनोटमा नेपाल समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाल कठिन समूहमा रहेको र छनोट हुने सम्भावना नरहेको प्रतिक्रिया दिएका थिए। 

कुवेतमा हुने छनोट खेलमा नेपालले जुन ८ मा जोर्डनसँग, जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ। हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्।

घोषित नेपाली टोली :

गोलकिपर : दिप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा

डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ

Logo