मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

मड्रिडले १४ औं पटक जित्यो च्याम्पियन्स लिगको उपाधि


भिनिसियस जुनियरको गोलमा स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको १४औं उपाधि जितेको छ। 

फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति ८० हजारभन्दा बढी दर्शकहरुका अघि रियलले इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर युरोपको प्रतिष्ठित ट्रफी उचालेको हो। 

रियलको जितमा भिनिसियस जुनियरले ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले फेडरिको भाल्भार्डेको क्रसलाई ट्याप इन शैलीमा पोष्टको दिशा दिएका हुन् । रियलका करिम बेञ्जिमाले खेलको ४२औं मिनेटमा पहिलो गोल गरे पनि त्यो अफसाइड साबित हुँदा रियलले एक गोल अन्तरले मात्र जित्न सक्यो।

यता रियलका गोलकिपर थिबाउट कोर्तुवाको उत्कृष्ट बचाउले लिभरपुलको आक्रमण निराश बनेको थियो । यसैगरि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि उनले एसी मिलानबाट दुईपटक २००३ र २००७ र रियलका लागि २०१४ र यो पटक अर्थात २०२२ मा च्याम्पियन्स लिग जितेका थिए। 

लिभरपुलको सातौं पटक उपाधि जित्ने सपना भने पूरा हुन सकेन। यसअघि रियल मड्रिडले नै सन २०१८ मा लिभरपुललाई हराएर १३ औं उपाधि जितेको थियो। 

Logo