नेपाल ओमानसँग खेल्दै

नेपाल ओमानसँग खेल्दै


आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो चौथो सिरिजको पहिलो खेलमा नेपालले आज राति ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकासमेत सम्मिलित जारी सिरिजमा नेपालको यो पहिलो खेल हो भने ओमानको दोस्रो । जारी सिरिज नेपालको चौथो सिरिज हो भने ओमानको अन्तिम । सिरिजको उद्घाटन खेलमा ओमान आज बिहान अमेरिकासँग ११४ रनले पराजित भएको थियो । 

यो प्रतियोगिता नेपालका लागि विश्वकपमा छनोट हुन मात्रै नभई एकदिवसीय मान्यता जोगाइराख्न पनि महत्वपूर्ण हुनेछ । जसका लागि नेपाल कम्तीमा शीर्ष पाँच भित्र पर्नै पर्छ । विश्वकपमा छानिन भने शीर्ष तीनमा रहन आवश्यक छ । यो प्रतियोगितामा नेपाल लगायत ओमान, स्कटल्यान्ड, यूइएई, अमेरिका, नामिबिया र पपुवा न्यूगिनी सामिल छन् । पीएनजी मात्र नेपालभन्दा पछाडि पुछारमा छ । 

सात टोली सहभागी लिग–२ मा नेपाल छैठौं स्थानमा छ । १२ खेलमध्ये ६ मा जित र ६ मा हार ब्यहोरेको नेपालको १२ अंक छ । ओमन भने ३३ खेलमा १९ जित र १२ हार ब्यहोर्दै ४० अंक सहित शीर्षस्थानमा छ । 

अमेरिकाको मोसा क्रिकेट स्टेडियममा हुने नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । 

ओपनर कुशल भुर्तेल र आशिफ शेख घाइते भएपछि नेपालको ओपनिङ केही कठिन देखिएको छ । पछिल्ला खेलमा ओपनिङमा जम्दै आएका कुशल र आशिफले नेपाललाई गतिलै सुरुवात दिलाउँदै आएका छन् । आजको खेलमा कुशलको मैदान उत्रने सम्भावना कायम र आशिफको कम रहेको अमेरिकामा रहेका नेपाली पत्रकारहरुले जनाएका छन् । 

लिग–२ मा नेपाल र ओमनले अहिलेसम्म चार खेलमा प्रतिस्पर्धा गरेका छन् । जहाँ नेपाल एक खेलमा मात्र विजयी हुदा तीन खेलमा हार ब्यवहोरेको छ ।
त्यस्तै, पछिल्लो पाँच वटा एकदिवसीय खेलमा नेपाल र ओमनको अवस्था धेरै फरक छैन् । नेपालले पछिल्ला पाँच खेलमध्ये एउटा खेलमा मात्रै जित निकालेको छ भने ओमनले दुई वटा खेलमा जित निकालेको छ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सुवास खकुरेल, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल । 

Logo