दुबै पुलिसको विजयी सुरुवात

दुबै पुलिसको विजयी सुरुवात


विभागीय टोलीद्वय नेपाल पुलिस क्लव र एपिएफ क्लवले मंगलवारबाट सुरु भएको वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुुरुवात गरेका छन् । कीर्तिपुरको बहुउदेश्यीय कर्भड हलमा मंगलवार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लवले आयोजक न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै विजयी शुरुवात गर्दा अर्को खेलमा एपिएफले  परोपकार गल्र्स होस्टललाई हराउँदै शनिवारसम्म सञ्चाल हुने प्रतियोगितामा विजयी सुरुवात गरेका हुन् ।

वागमती प्रदेश खेलकुद विकास परिषद तथा न्यु डायमण्ड स्पोट्र्स क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१५, २५–१५ को सोझो सेटमा हराएको हो । पहिलो सेट गुमाएको न्यु डायमण्डले दोस्रो सेटको शुरुवात राम्रो गरेपनि अन्तिमसम्म लयलाई निरन्तरता दिन सकेन । केही अनुभवि खेलाडी बिना कोर्टमा उत्रिएको न्यु डायमण्डले यससँगै हारबाट प्रतियोगिताको शुरुवात गरेको हो ।

मंगलवार नै सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली एपिएफ परोपकार गल्र्स होस्टल हाबी भएर खेल्यो । सोही क्रममा एपिएफले परोपकारलाई २३–११, २५–४, २५–३ को सोझो सेटमा स्तब्ध बनाउँदै प्रतियोगिताको शुरुवात गरेको हो । प्रतियोगिता बुधवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल नेपाल पुलिस र परोपकर गल्र्स होस्टल तथा दोस्रो खेल न्यु डायमण्ड एकेडेमी र एपिएफ क्लवबीच हुनेछ ।

४ टोलीले सहभागिता जनाएको प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रोले १ लाख २५ हजार रुपैयाँ र ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ  । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमण्डलाई उपलब्ध गराउनुपर्ने प्रावधान ओयेजकले राखेको छ । 

Logo