नेपाल पुलिस र एपिएफले लगातार दोस्रो जित निकाल्दा न्यू डायमण्डको दोस्रो हार

नेपाल पुलिस र एपिएफले लगातार दोस्रो जित निकाल्दा न्यू डायमण्डको दोस्रो हार


विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले बुधवार पनि वागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् ।   

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बुधवार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लवले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । निकै कमजोर देखिएको परोपकार नेपाल पुलिस क्लवसँग २५–६, २५–६, २५–११ को सोझो सेटमा पराजित भएको हो ।

लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ । यता दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ । यसअघि मंगलवार भएको खेलमा पुलिस न्यू डायमण्ड एकेडेमीले पराजित गर्दै प्रतियोगितामाविजयी शुरुवात गरेको थियो भने परोपकार सशस्त्र प्रहरी बलको एपिएफ क्लवसँग सोझो सेटमा हारेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अर्को विभागीय टोली एपिएफले आयोजक न्यू डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो । पहिलो सेटबाट नै हाबी भएर खेलेको एपिएएफले न्यू डायमण्डलाई २५–१२, २५– २०, २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एपिएफले पनि दुई खेलबाट तालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो । एपिएफको पनि तालिकामा ६ अंक भएको छ । राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछ । दिनको पहिलो खेल परोपकार गर्ल्स होस्टल र आयोजक न्यू डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लव र एपिएफबीच प्रतिष्पर्धा हुनेछ ।

Logo