पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले भने- ‘बाँकी जीवन मुलुकको समृद्धिमा समर्पित’

पोखरा विमानस्थल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले भने- ‘बाँकी जीवन मुलुकको समृद्धिमा समर्पित’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

आईतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले बाँकि जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि भनेर निर्वाचनका बेला जनताको सामू कवुल गरेको उल्लेख गर्दै सोही अनुसार आफूले काम गर्ने बताएका हुन् । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभई सिंगै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने विश्वास समेत व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डले सो विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्दै आफैले प्रधानमन्त्रीको रुपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व दुवै लागेको समेत बताए । उनले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकासका लागि कनक्टिभिटीको महत्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त्यसमा ठोस योगदान पु-याउने स्पष्ट पारे । 

‘यो अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, संघर्ष, अनसनहरु, ती अनसन तोड्नका लागि म आफैले लिएका पहलकदमी र भूमिकाहरु पनि आज मैले स्मरण गरिराखेको छु ।’ उनले भने, ‘साथसाथै मैले पहिलो पटक प्रधानमन्त्री हुँदा या दोस्रो पटक प्रधानमन्त्रीको रुपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दुतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेताहरुसँग मैले लगातार गरेका संवादहरु, अन्तरक्रियाहरुहरु स्मरण गरिरहेको छु । तपाईहरुसँगै हामी सबैका सपना यो अन्तराष्ट्रिय विमानस्थल निर्माण होस् । राम्रोसँग गुणस्तरीय रुपमा निर्माण होस् । र, यसले हाम्रो समग्र आर्थिक विकास एउटा नयाँ योगदान पोखराले गर्न सकोस् । यसै पनि पोखरा नेपालकै एउटा पर्यटकीय केन्द्रको रुपमा विश्वभरी परिचित त छदैछ । तर त्यसको सम्वद्र्धन र प्रवद्र्धनका निम्ति आजको जमानामा आवश्यक पर्ने भनेको कनेक्टिभिटी हो ।’ 

May be an image of 6 people and people standingउनले अगाडि थपे- ‘मैले निर्वाचनका अभियानको दौरानमा देशैभरी घुम्दा पनि सुदूरपश्चिम, कर्णाली, लुम्विनी, गण्डकी, पूर्व एक नम्बर सबैतिर जाँदा पनि सामाजिक न्याय, सुशासन र विकास नै अव देशको एजेण्डा बन्नेछ, बन्नु पर्दछ । र, मैले शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा र संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको नेताको हैसियतले पनि मैले बाँकि जीवन अव आर्थिक विकास र समृद्धिमा, बाँकि जीवन अव सामाजिक न्याय र सुशासनमा भनेर मैले जनताको अगाडि कवुल गरेको छु ।’

कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पु-याएका पूर्वपर्यटनमन्त्रीहरुलाई पनि सम्मान गरिएको थियो ।

Logo