नेकपामा घोचपेच : अस्थिरता र वैचारिक अस्पष्टता विवादका विषय

नेकपामा घोचपेच : अस्थिरता र वैचारिक अस्पष्टता विवादका विषय


काठमाडौं,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अस्थिरता र वैचारिक अस्पष्टतालाई मुद्दा बनाएर नेताहरुबीच घोचपेच सुरु भएको छ । नेकपा निकट युवा संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य ईश्वर पोखरेलबीच घोचपेच भएको हो ।

कार्यक्रमको अन्तिममा बोलेका अध्यक्ष दाहालले तत्कालीन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरे । उनले आफू भन्दा अघि बोलेका नेता नेपाल र सचिवालय सदस्य पोखरेलका अभिव्यक्तिको खण्डन गरेका थिए ।

केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको उनको दाबी थियो । ‘मलाई अस्थिर भन्ने र विचार स्पष्ट भएन भन्नेहरुले हेरे हुन्छ, मेरै प्रस्तावमा पार्टी एकता भएको हो । मेरै प्रस्तावमा एमालेका तीन तीन जना नेताहरु प्रधानमन्त्री हुनुभएको हो’, उनले भने।

उनले आफू समय अनुसार चल्ने नेता भएको दाबी गरे । आगामी दिनमा अझै नयाँ प्रयोग गरेर मात्र मर्ने चाहना रहेको भन्दै उनले आफूलाई साथ दिन तत्कालीन एमालेका नेता कार्यकर्तालाई आग्रह गरे । माधव नेपालको नामै लिएर उनले भने, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो । उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा काम गरेको हुँ।’

उनले थपे, ‘केपी ओलीलाई संविधान बनाऊँ तपाई प्रधानमन्त्री हुनुस् भनेकै हुँ । यो पटक पनि चुनाव अघि नै उहाँलाई तपाईं प्रधानमन्त्री भनेको हुँ। अब तपाईंहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’ त्यसअघि वरिष्ठ नेता नेपालले आफ्नो पार्टीका नेताहरुमा अहंकार देखिएको भन्दै सच्चिन आग्रह गरेका थिए।
नागरिकबाट

Logo