१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने

१५ दिनभित्र राजधानीलाई सुन्दर बनाइने


काठमाडौं

देशकै केन्द्रीय राजधानी व्यवस्थित हुन नसकेर सरकारको आलोचना खेप्दै आएको काठमाडौ महानगरपालिकाले शहरी सौन्दर्यसंग सम्बन्धीत निकायलाई डाकेर १५ दिनभित्र देखिने गरी काम गर्न निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एवं सचिव केदार न्यौपाने र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले काम गर्न नसक्नुको कारण समेत माग गरेका छन् । हिजो शुक्रबार कामपा मुख्यालयमा बैठक बोलाएर सचिव न्यौपानेले १५ दिनभित्र राजधानीलाई सुन्दर देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

करिब डेढ दर्जन निकायका अधिकारीलाई चालु आर्थिक वर्षको बजेटको परिधिभित्र रहेर तत्काल काम गर्न कडा निर्देशन दिनुभएको हो । निर्देशन दिने क्रममा उहाले भन्नुभयो– अब तपाईहरुले नीति बनाउने होइन, अहिलेको अवस्थामा योजना र अनुसन्धान गर्नु आवश्यक छैन १५ दिनभित्र काम गरेर देखाउनुस् ।

काम गर्न आनाकानी गरिरहेका अधिकारी प्रति लक्षित गदै प्रमुख जिल्ला अधिकारी आचार्यले तत्काल महानगरपालिका क्षेत्रलाई सुन्दर बनाउन काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–तपाईहरुले काम गर्न सक्नुभएन वा नसक्नाको कारण लिखित जवाफ दिनुस् हामी आफैंले काम गर्नेछौं । कामपाका सचिव न्यौपाने र प्रजिअ आचार्यले सबैलाई काम गर्न कडा निर्देशन दिएका थिए । आचार्यले कुनैपनि बाहानामा काम गर्नबाट पछि नहट्न आग्रह गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo