सुपर जेनरल इन्टर क्लब टी–२० प्रतियोगिता फागुन १७ देखि

सुपर जेनरल इन्टर क्लब टी–२० प्रतियोगिता फागुन १७ देखि


पोखरामा आगामी फागुन १७ देखि २६ गतेसम्म ‘सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट’ प्रतियोगिता हुने भएको छ ।

केएन स्पोर्टस प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक कमल थापाले बताए । 

कोरोना कहरका कारण लामो समय क्रिकेट प्रतियोगिता नभएको अवस्थामा सो प्रतियोगिताले क्रिकेट खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनमा सघाउने विश्वास आयोजकको छ । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारासहित आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका चार र बागमती प्रदेशका चार गरी आठ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, स्याङ्जा क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौँ, मिक्समाण्डु क्लब काठमाडौँ र स्टन एकेडेमी चितवन सहभागी हुने निश्चित भएको प्रतियोगिता संयोजक थापाले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा प्रतियोगिता खेलाइने र समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा द्वितीय टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई छुट्टाछुट्टैरुपमा आकर्षक पुरस्कार प्रदान गरिने र हरेक खेलमा ‘म्यान अफ दी म्याच’लाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

Skip This
Logo