‘बी’ डिभिजन लिग : खुमलटार शीर्ष डिभिजनमा उक्लिने सम्भावना कायमै

‘बी’ डिभिजन लिग : खुमलटार शीर्ष डिभिजनमा उक्लिने सम्भावना कायमै


राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवितै राखेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जीत निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनालाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावना जिवितै रहेको हो । 

यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ । स्तरीय खेल देखाएको खुमलटारको जीतमा सविन केसीले दुई गोल गर्दा आयुष  घलानले एक गोल गरे । सविनले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा ४३ औं मिनेटमा सविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा लिएको २–० को अग्रतालाई कायम राख्दै खेल देखाएको खुमलटारका लागि ७४ औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवन्त राखेको हो । अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ अंक जोडेर तालिकाको चौंथो स्थानमा यथावत् रहेको छ ।

यस अघि बुधबारै सम्पन्न पहिलो खेलमा नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले एक÷एक गोलको बराबरी खेल्दा अंक बाँडेका छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँवस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । ३९ औं मिनेटमा नयाँबस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१ औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्न पुगे । बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका रहेको छ ।

Logo