आर्मीलाई हराउँदै पुलिस फाइनलमा

आर्मीलाई हराउँदै पुलिस फाइनलमा


नेपाल पुलिस क्लब पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बुधबार महिलातर्फ भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो ।

फाइनल पुग्ने क्रममा पुलिसले आर्मीलाई २६–२४, २५–१७, २८–२६ को सेटमा पराजित गर्यो । यस जितपछि पुलिसले ५ खेलमा ११ अंक जोड्यो । र, पुलिसले शीर्ष दुईमा स्थान पक्का गर्दै उपाधि नजिक पुगेको हो ।

लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने समीकरण रहेको छ । अब न्यु डाईमण्ड र नेपाल एपीएफ क्लब मध्ये एक टिम फाइनल पुग्नेछ । न्यु डाईमण्ड र एपीएफले आजै लिगको अन्तिम खेल खेल्नेछ  । आर्मीले ५ खेलबाट ८ अंक जोडेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने आयोजकले जनाएको छ ।

Logo