आज नेपाल अष्ट्रेलियासँग भिड्दै

आज नेपाल अष्ट्रेलियासँग भिड्दै


आज नेपाल विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त फुटबल छनोटको दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग भिड्ने भएको छ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार आज राति पौने १० बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो भने जवर्डनसँग ३–० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।

यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ ।

यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्न पर्नेछ । समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।

नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् ।

Logo