४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण

४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण


खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफैँ हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

दशैंतिहारलाई लक्षित गर्दै गत ४ असोजदेखि साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिविर ११ असोजसम्म साकेला गाउँपालिका–३ खिदिमा पुगेर टुंगिएको छ ।

पालिकाका सबै वडा–वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिविरबाट सामाजिक सुरक्षाभत्ताबापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए । 

साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, असोज ५ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, असोज ६ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ लाभग्राहीलाई १० लाख २५ हजार भत्ता वितरण गरिएको छ ।

यस्तै, असोज ७ गते साकेला गाउँपालिका–२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीलाई १४ लाख ९२ हजार, असोज ९ गते साकेला गाउँपालिका–४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते खिदिमामा सञ्चालन गरिएको शिविरमार्फत ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार रकम भुक्तानी गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बूले बताए । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् । 

विभिन्न प्रकारका १ हजार ३१५ लाभग्राही रहेको गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख ६ हजार ३३० रुपैयाँ भत्ता निकासा भएको थियो । सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ ।

तर, वृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । गाउँपालिका र बैंकबीच वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । 

Logo